बुटवल। नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन।
उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले मिलिजुली सरकार गठनका लागि आह्वान गरेका थिए।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बिहीबार बिहान केसीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। मुख्यमन्त्रीका लागि एउटा मात्रै दाबी परेको थियो। त्यससँगै उनको पक्षमा स्पष्ट बहुमत देखिएपछि प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।