धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बजेट पारित गरिसकेपछि एक महिनादेखि बिजनेसविहीन भएको छ । बजेट पारित गरेसकेपछि चार वटा विधेयकहरुलाई दफवार छलफलका लागि विषयगत समितिहरुमा पठाइसकेपछि प्रदेश सभा बिजनेसविहीन भएको छ । असार २७ गतेपछि प्रदेश सभाको बजेट अधिवेशनको बैठक बस्न सकेको छैन्। सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा छलफलमा छ । प्रदेश सभाको सामाजिक विकास समितिले सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी प्रदेश सभा सचिवालयमा प्रतिवेदन दर्ता गराएको प्रदेश सभाका सचिव रामसिंह धामीले बताए ।
उनले दलित सशक्तिकरण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पनि सामाजिक विकास समितिमा छलफलमै रहेको बताए ।
विधायन समितिका सभापति नेपालु चौधरीका अनुसार अहिले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भइरहेको छ । उनले सो विधेयक माथि छलफलको क्रममा सोमबार पहाडी जिल्ला डोटी र बझाङ गई सुझाव लिने बताए । उने सो विधेयकमाथिको छलफल गरी प्रतिवेदन तयार गरेपछि प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ हुने बताए ।
प्रदेश सभाको बजेट अधिवेशन जारी राखेको प्रदेश सरकारले थप विजनेश दिन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले विधायन समितिमा रहेको विधेयकमाथि दफावार छलफलको प्रतिवेदन प्रदेश सभा सचिवालयमा आएपछि सभाको बैठक बोलाइने बताइन् । उनले चालु अधिवेशनका लागि यिनै चार विधेयकको बिजनेश रहेको भन्दै थप विधेयक सभामा तत्कालन नआउने बताइन् । प्रदेश सभाकाले स्थानपना भएको चार वर्षमा आठ वटा अधिवेशन सञ्चालन गर्दैै ४८ वटा प्रदेश ऐन र विभिन्न नियमावली, संशोधन विधेयक, स्थानीय ऐन गरी ५३ वटा विधेयक पारित गरेको छ ।