काठमाडौँ। सर्वोच्चद्वारा ठाकुरको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेपछि महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी नगरेको हो । विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । निवेदक ठाकुरको मागअनुसार किन गर्नु नपर्ने हो त्यसको आधार र कारण खुलाइ बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आयोग र यादवलाई सर्वोच्चले भनेको हो । जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर पेस गर्न पनि इजलासले भनेको छ ।
साउन ११ गते आयोगले जसपाको आधिकारिकता यादवलाई दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले उक्त निर्णय लिएको थियो । आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगको निर्णयले आफूलाई आघात पुगेको पनि उनले निवेदनमा लेखेका थिए ।आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने भन्दै उनले बदर गर्न अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चले भने अन्तरिम आदेश दिएन ।