काठमाडौँ। माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताहरुले दायर गरेको रिटको सुनुवाइका आज हुने भएको छ । नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।
उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिएको भएपनि सुनुवाई हुन सकेको थिएन । उनीहरु आफूहरु माओवादी केन्द्रमै रहेको दावी गर्दै बुधबार सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंगको फैसला गरेपछि माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका यी चार नेताले यसअघि सर्वोच्च अदालतमै मुद्दा हाल्दै माओवादी केन्द्र खारेजी माग गरेका थिए। तर अदालतले उनीहरूको निवेदन खारेज गरिदिएको थियो।