काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । उनका अनुसार आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुनेछ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् । देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।
आइतबारको स्थायी कमिटी बैठकमा माधव समूह औपचारिक रुपमा सरकारमा सहभागी नहुन नसक्ने प्रचण्डको ब्रिफिङ थियो । तत्काल नेपाल समूह नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । यद्यपि आइतबार बसेको स्थायी कमिटीले पार्टीको सांगठनिक गतिविधिबारे निर्णय गरेको थियो । आजको बैठकबाट देउवा सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्ने अनुमान छ। माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।