धनगढी: अमेरिकामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले हत्या गरेको आरोप अस्वीकार गरेका छन् । तर, ममतालाई मृत अवस्थामा फेला पारेपछि शव टुक्र्याएर लुकाउन खोजेको भने उनले स्वीकार गरेका छन् । हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै नरेशले ममतालाई मृत अवस्थामा फेला पारेपछि शव टुक्र्याउने निर्णय गरेको बताएका हुन् । उनले शव व्यवस्थापनका लागि आरा प्रयोग गरेको पनि स्वीकार गरेका छन् ।
नरेशका अनुसार ३० जुलाई २०२४ मा ओछ्याननजिकै ममता मृत फेला परेकी थिइन् । उनको मुख र भुइँमा बान्ता देखिएको थियो । त्यसमा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका अवशेष रहेको उनको दाबी छ । ममतालाई छामेर हेरेको, बोलाउने प्रयास गरेको र जीवनरक्षक उपाय अपनाएको उनले अदालतमा बताएका छन् ।
त्यसपछि शव टुक्र्याउने निर्णय गरेको र सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको उनको बयान छ । शवलाई बाथरुममा लगेको भए पनि शारीरिक तथा मानसिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन काम रोक्नुपरेको उनले बताएका छन् । उनले शव काट्न आरा प्रयोग गरेको स्वीकार गरे पनि शरीर पूर्णरूपमा टुक्र्याउन नसकेको बताएका छन् । यद्यपि, अभियोजन पक्षले भने नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोरका झोलामा राखी फ्याँकेको आरोप लगाएको छ ।
ममताको शव अहिलेसम्म फेला परेको छैन । प्रहरीले उनीहरूको शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेको थियो । साथै, कपालका टुक्रा अड्किएको विद्युतीय आरा पनि बरामद गरिएको थियो । त्यसपछि नरेशलाई पक्राउ गरिएको हो । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि ९एमआर० का रूपमा काम गर्थे । सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत थियो । व्यवसाय राम्रै चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए ।
अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले पुगेका उनी एक वर्षपछि २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए । पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए । सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए । २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरूको आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन् । करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए ।
ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो । जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन । सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो । त्यसबेला नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए । तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गरेको थियो ।


