डोटी — दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै सुदूरपश्चिमका पहाडी रुटमा मनपरी भाडा असुली र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले यात्रु मर्कामा परेका छन् । ठूला बस पर्याप्त नचल्ने र कच्ची सडकमा साना जिप तथा हाइसमा निर्भर हुनुपर्ने बाध्यताको फाइदा उठाउँदै यातायात व्यवसायीले साविकको भन्दा दोब्बरसम्म भाडा माग्ने गरेको यात्रुहरूको गुनासो छ ।
डोटीको बुडरबाट बझाङ, बैतडी र दार्चुलातर्फ जाने यात्रुहरू चाडपर्वमा घर पुग्नै महँगो भाडा तिर्नुपर्ने बाध्यतामा छन् । बुडरबाट बझाङको बुंगल जान लागेका जयबहादुर धामीले सामान्य अवस्थामा एक हजार रुपैयाँ लाग्ने यात्राको भाडा अहिले एक हजार सात सय ५० रुपैयाँ तिर्नुपरेको बताए । साविकको भन्दा ७ सय ५० रुपैयाँ बढी भाडा मागिएपछि उनी मर्कामा परेका छन् । दसैंमा घर पुग्नैपर्ने बाध्यताका बीच चर्को भाडा तिर्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।
बझाङकै बित्थडचिर जान लागेकी कलावती बोहराको समस्या पनि उस्तै छ । साविकमा आठ सय रुपैयाँ भाडा लाग्ने उक्त रुटमा अहिले एक हजार पाँच सय रुपैयाँ मागिएको उनले बताइन् । त्यस्तै, बैतडीको पाटन जान लागेकी सीता महरासँग साविकमा ६ सय रुपैयाँ लाग्ने यात्राको भाडा नौ सय रुपैयाँ मागिएको छ । बैतडीकै मेलौली जान लागेका हीरा भुलसँग पनि आठ सय रुपैयाँको सट्टा एक हजार चार सय रुपैयाँ मागिएको छ ।
यात्रुको चाप बढे पछि सार्वजनिक यातायातको सहज विकल्प नहुँदा यात्रुहरू व्यवसायीले मागेको भाडा तिर्न बाध्य हुने गरेका छन् । बुडरबाट दार्चुलाको महाकाली जान लागेका शंकर जोशीको गुनासो भने भाडामा मात्रै सीमित छैन । सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखिँदा यात्रा असहज र जोखिमपूर्ण हुने गरेको उनले बताए । गन्तव्यमा पुग्ने हतारोमा यात्रुहरू असुरक्षित यात्रा गर्न बाध्य हुने अवस्था रहेको उनको भनाइ छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाका कतिपय सडक कच्ची र साँघुरा छन् । ठूला बसको पहुँच सीमित हुँदा साना जिप तथा हाइस यात्रुको प्रमुख विकल्प बनेका छन् । तर, सीमित सवारीसाधन र चाडपर्वको चापका कारण यात्रुहरू महँगो भाडा तिर्न र असहज यात्रा गर्न बाध्य छन् । यस्तो अवस्थामा भाडादरको अनुगमन र यात्रुको सुरक्षामा सम्बन्धित निकायको प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भोजराज जोशीले दसैंतिहारमा यात्रुको चाप बढेको मौका छोपेर बढी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताए ।यसका लागि ठाउँठाउँमा रहेका यातायात व्यवसायी समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । दसैँतिहारमा घर फर्किने यात्रुलाई सुरक्षित र सुलभ यात्रा सुनिश्चित गर्नु यातायात व्यवसायी तथा नियामक निकायको जिम्मेवारी हो । यात्रुको बाध्यतालाई अवसर बनाएर बढी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न प्रभावकारी अनुगमन, पारदर्शी भाडादर र नियम उल्लङ्घन गर्नेमाथि कारबाही आवश्यक छ । चाडपर्वमा यात्रुको चाप बढ्नु अस्वाभाविक होइन, तर त्यसकै नाममा यात्रुले अतिरिक्त आर्थिक भार र सुरक्षाको जोखिम बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, अध्यक्ष जोशीले भने ।
महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका कार्यसमिति सदस्य देवराज जोशीले दसैंतिहारलाई लक्षित गरी समितिले साविक भन्दा थप सवारीसाधन परिचालन गरेको बताए । समिति मातहतका सवारी चालकले यात्रुलाई सास्ती दिने वा बढी भाडा असुल्ने गरेको पाइए कारबाही गरिने उनको भनाइ छ । तर, समितिबाहिरका सवारीसाधनमाथि कारबाही गर्ने अधिकार आफूहरूसँग नभएकाले यस विषयमा ट्राफिक प्रहरी र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताए । सबै यातायात व्यवसायीले रुटअनुसारको भाडादर स्पष्ट देखिने गरी टाँस गर्नुपर्ने, यात्रुप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुपर्नेमा उनले जोड दिए ।
दसैंतिहारमा यात्रुलाई सहजीकरण गर्न सुदूरपश्चिमका विभिन्न स्थानमा ३९ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । क्षमताभन्दा बढी यात्रु बोकेको पाइए सवारीचालकलाई तत्काल जरिवाना गर्ने र अतिरिक्त यात्रुलाई सम्भव भएसम्म अर्को सवारीसाधनको व्यवस्था गरी गन्तव्यमा पठाउने गरिएको उनले बताए । बढी भाडा असुलीको गुनासो आए तत्काल कारबाही गर्ने र बढी लिइएको रकम फिर्ता गराउनेसम्मका काम भइरहेको कार्कीले बताए।
घटस्थापनायता पनि विभिन्न सवारीचालक र सवारीसाधनमाथि आवश्यक कानुनी कारबाही गरिएको तथा सम्झाइबुझाइ गरिएको उनको भनाइ छ । यात्रुलाई समस्या परेमा ट्राफिक प्रहरीको टोल-फ्री नम्बर १०२ मा फोन गरेर गुनासो गर्न सकिने उनले जानकारी दिए ।कान्तिपुरबाट


