धनगढी । कैलालीमा मान्छेको ज्यान लिएको नरभक्षी बाघको गतिविधि गाउँतिर बढेको छ । दुई दिनअघि मात्रै गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव सामुदायिक वनमा सोही वडाको चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरीको ज्यान लिएको बाघले गाउँनजिक घुमफिर गरिरहेको देखिएको छ । डिभिजन वन कार्यालयका अनुसार गौरीगङ्गाको सामुदायिक वनमा मान्छे मारेको बाघ धनगढी उपमहानगरपालिका–१७, १६, १५ मा रहेका विभिन्न सामुदायिक वन र भारताल साझेदारी वनक्षेत्रमा घुमफिर गरिरहेको देखिएको हो ।
बाघ गाउँआसपास हिँड्न थालेकाले उच्च सुरक्षा सतर्कता अपनाउन र वनक्षेत्रमा नजान डिभिजन वन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । बाघले मान्छेको ज्यान लिएपछि त्यसको खोजीकार्य र गतिविधिको निगरानी जारी राखिएको छ । मान्छे मारेको सामुदायिक वनबाट बाघ सरेर धनगढी उपमहानगरपालिका–१७ को दमौलिया, धुरझन्नातर्फ घुमफिर गरेको वनकर्मीको टोलीले तथ्य फेला पारेको छ ।
गत साता मात्रै धुरझन्ना गाउँनजिकको सिद्धबाबा सामुदायिक वनमा बाघको ताजा पदचिह्न भेटिएको डिभिजन वन कार्यालयका अधिकृत रामऔतार चौधरीले जानकारी दिनुभयो । उहाँले केही स्थानीयले बाघलाई धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिरनजिक देखेको उल्लेख गर्नुभयो । यो मन्दिरनजिक रामपुरगाउँ रहेको छ । चौधरीका अनुसार बाघ भारताल साझेदारी वनक्षेत्रमा पनि गाउँनजिकै घुमिरहेकाले उच्च सतर्कता अपनाउन आवश्यक छ । राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी० शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशी भन्नुहुन्छ, “जङ्गलमा जनावर खाएर बाँच्ने नरभक्षी बाघले पुनः मान्छे मार्ने सम्भावना हुन्छ । बाघ बुढो, कमजोर, समस्याग्रस्त वा नरभक्षी भएपछि बस्तीनजिक आउने गर्छ । त्यसैले सबैले सतर्कता अपनाउनु जरुरी छ ।”
नरभक्षी बाघ गाउँआसपास ओहोरदोहोर गर्न थाले पनि मान्छे जङ्गल पस्ने क्रम भने रोकिएको छैन । च्याउ खोज्न, दाउरा, पात, घाँसका लागि मान्छे दिनहुँ जङ्गल पसिरहेका छन् । कैलारी गाउँपालिका–६, गदरियाका अनिल चौधरीले मोया घटनापछि एकरदुई दिन मान्छे वन पस्न अलि कम भए पनि अहिले फेरि जान थालेको बताउनुहुन्छ । वन अधिकृत चौधरीले कैलारी गाउँपालिका–४, ‘के’ गाउँमा रहेका सामुदायिक वन हुँदै बाघले भारताल वनसम्म ओहोरदोहोर गर्ने गरेको जानकारी दिनुभयो ।
गत जेठमा मात्रै कैलारी गाउँपालिका–४, ‘के’ गाउँस्थित हरियाली महिला सामुदायिक वन, सयपत्री सामुदायिक वन र वडा नं। ६ को भगतपुरस्थित मिलन सामुदायिक वनक्षेत्रमा बाघ देखिएको थियो । नरभक्षी बाघ खोज्नका लागि वनकर्मी र एनटिएनसीको प्राविधिक टोली परिचालित छ । दुई दिनसम्म ड्रोन क्यामराको सहायताले बाघको खोजी गरिएको तर फेला नपरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । बाघको गतिविधि निगरानीका लागि विभिन्न वनमा स्वचालित क्यामरा जडान गरिएको छ ।


