धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हातमा झाडु लिएर सरकारी कार्यालय परिसरको फोहोर सफा गर्दै प्रदेशको बजेटमा रहेका बेथिति हटाउने प्रतिबद्धता जनाएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा शुक्रबार आयोजित सरसफाइ कार्यक्रममा सहभागी मुख्यमन्त्री भट्टले भौतिक फोहोर सफा गर्नुका साथै शासन व्यवस्था, नीति, प्रक्रिया र बजेटमा देखिएका विकृति हटाउनुपर्ने बताएका हुन् ।
उनले सरसफाइलाई केवल फोहोर व्यवस्थापनसँग जोडेर हेर्न नहुने बताए । समाजका हरेक क्षेत्रमा सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै उनले यसले सभ्यता, संस्कार र संस्कृतिको पहिचानसमेत झल्काउने बताए ।
‘व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तनको चरणमा छौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसका लागि हरेक क्षेत्रमा सुधार र सरसफाइ आवश्यक छ ।’ प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्दै नीति, विधि र पद्धतिमा आधारित बजेट ल्याउने तयारी भइरहेको उनले बताए ।
मुख्यमन्त्री भट्टले नेपालको संविधान लामो संघर्ष, बलिदान र राष्ट्रिय सहमतिबाट निर्माण भएको साझा दस्ताबेज भएको उल्लेख गर्दै संविधानले सबै वर्ग, जाति, क्षेत्र र लिंगका नागरिकको अधिकार सुनिश्चित गरेको बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले पछिल्लो जनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा क्षति पुगेपछि सरकारी कार्यालय तथा सेवाग्राही बस्ने स्थानमा फोहोर जम्मा भएकाले सरसफाइ गरिएको बताए ।
राज्यमन्त्री जानकीदेवी कुँवरले सरसफाइ स्वच्छता र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अभियानलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताइन् । सरसफाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र मुख्यमन्त्री निवास परिसर सफा गरिएको थियो ।

