गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेन–जी आन्दोलनलाई अपमान गरेको आरोप लगाउँदै सुध्रिन सुझाव दिएका छन् । जेन–जी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेताहरूलाई सुध्रिन सुझाव दिएका हुन् । अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ । उहाँहरू सबैलाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्, उनले भने ।
आन्दोलनलाई अपमान गर्नु भनेको तीन करोड नेपाली जनतालाई अपमान गर्नु भएको उनको भनाइ छ । ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस् । त्यही भएर सुध्रिनुस् । अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन,’ उनले भने ।
आफूबाट कुनै कमजोरी नहोस् भनेर सधैँ सचेत रहने गरेको पनि उनले बताए । ‘मलाई सुत्न पनि डर लाग्छ । कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सय दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा । म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु । म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिरहनुभएको छ,’ उनले भने ।
सुशासनको पक्षमा उभिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप पनि उनले लगाए । अहिलेको सरकारले जेन–जीका माग सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ छ ।

