धनगढी । अविरल वर्षासँगै आएको पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बाजुरा–साँफे सडकखण्ड सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक खुलाउन विभिन्न स्थानमा खसेका पहिरो पन्छाउने काम तीव्र पारिएको छ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले सडक खुलाउन निरन्तर प्रयास भइरहेको र केही घण्टाभित्रै यातायात सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध भएका स्थानमा आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ।
लगातारको वर्षाका कारण शनिबार रातिदेखि जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा बाजुरा सदरमुकाम मार्तडी जोड्ने मुख्य सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि जिल्लामा यातायात आवागमनसँगै दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।
बडीमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतका अनुसार सडकमा खसेका पहिरो हटाउन बडीमालिका नगरपालिकाको एउटा र सडक विभागका दुईवटा डोजर परिचालन गरिएको छ। तीनवटै डोजरबाट निरन्तर पहिरो हटाउने काम भइरहेको उनले बताए।
महतका अनुसार सडकमा खसेका दुई दर्जनभन्दा बढी पहिरो हटाइसकिएको छ। अहिले एउटा मात्रै पहिरो हटाउन बाँकी रहेकाले उक्त पहिरो पन्छाएपछि सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए।
यसैबीच, वर्षाका कारण अवरुद्ध विद्युत् सेवा नियमित बनाउने कामसमेत भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका सुपरभाइजर सागर सिंहले आज साँझसम्म जिल्लाका सबै क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुने दाबी गरेका छन्।
उनका अनुसार बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा विद्युत् आपूर्ति सुचारु भइसकेको छ भने बाँकी क्षेत्रमा क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।
अविरल वर्षासँगै आएको पहिरोले ३२ वटा विद्युत् पोल ढालेपछि शनिबार रातिदेखि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको थियो। बडीमालिका नगरपालिका–८ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरो खस्दा विद्युत् पोल तथा प्रसारण लाइनमा ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ।

