बाजुरा: यहाँको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल-२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरे।
२०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो । अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा आउन सकेको थिएन ।
“मेडिकल अधिकृतका लागि धेरै खोज्यौँ, तर तत्काल पाउन सकिएन । केही सम्पर्कमा आएका चिकित्सकले पनि आउन मानेनन्”, गाउँपालिका अध्यक्ष रोकायाले भने, “आवश्यक अन्य जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरिएको छ । अब तत्कालै चिकित्सकको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।” अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।
गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि नागरिकले स्थानीय तहमै स्वास्थ्य सेवा पाउने वातावरण बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । “यसअघि सामान्य उपचारका लागि बाहिर जानुपर्ने अवस्था थियो । भौगोलिक रूपमा विकट गाउँका नागरिकले उपचारका लागि ठूलो रकम खर्च गर्नुपथ्र्यो”, उपाध्यक्ष थापाले भन्नुभयो, “विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य छ ।”
यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर रहेका त्यहाँका स्थानीयले थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने आशा व्यक्त गरेका छन् । आधारभूत अस्पताल सञ्चालनमा आएसँगै गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी धाउनुपर्ने बाध्यता घट्दै जाने अपेक्षा गरिएको छ ।
स्थानीय तहमै चिकित्सकीय स्वास्थ्य सेवा विस्तार हुँदा समय, खर्च र दुः ख कम हुने स्थानीय सुशील रोकायाले बताए। पालिकामै आधारभूत अस्पताल सञ्चालनमा आएसँगै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सेवा उपलब्ध भए राहत मिल्ने बताए। नौ स्थानीय तहमध्ये १० शय्या अस्पताल निर्माण गर्नेमा गौमुल दोस्रो बनेको छ । यसअघि जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्या अस्पताल सञ्चालनमा ल्याएको थियो ।

