बाजुरा: बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुदूरपश्चिम प्रदेशकै आकर्षक धार्मिक र पर्यटकीय स्थल हो । समुद्र सतहबाट चार हजार २१६ मिटर उचाइमा रहेको बडीमालिका मन्दिरले पर्यटकीय विकासमा धेरै सम्भावना बोकेको छ । नेपाल एकीकरणको समयदेखि नै पूजाआजा सुरु भएको बडीमालिका मन्दिरमा हरेक वर्ष साउने चतुदर्शीको दिन मेला लाग्छ । उक्त मेलामा मुलुकका अधिकांश जिल्लाका दर्शनार्थी पुग्ने गरेका छन् । यस वर्ष पनि साउन २३ चतुदर्शीको दिनबाट मेला सुरु भएको छ ।
बडीमालिका क्षेत्रको प्रमुख आकर्षणको रूपमा २२ वटा पाटन रहेका छन् । यीमध्ये सोता पाटनमा बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट करिब पाँच घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ । वरिपरि डाँडाहरू र बिचमा एउटा खोला बग्ने भएकाले यसलाई सोता पाटन भनिएको हो । यहाँबाट त्रिवेणी पुग्न आधा दिन र बडीमालिका मन्दिर पुग्न एक दिन लाग्छ ।
अग्ला डाँडाहरू, मगमग बास्ना छर्ने धुपी, सल्ला, औषधीय गुणयुक्त लौठसल्लालगायत दर्जनौँ बहुमूल्य जडीबुटी र सप्तरंगी फूलले ढकमक्क यो पाटन अन्त्यन्त सुन्दर देखिन्छ । यी पाटनमा मुख्य जडीबुटीहरू कटुको, बायाजडी, हत्तजडी, अतिस, पदमचाल, बुजो, मुस्ली, पाटनगर्दानु, भोटे चिरो, पाटनी फरुन आदि पाउने कुरा मार्तडी–४ का स्थानीय काशीराम थापा बताउँछन् । आठ महिना हिउँको घुम्टो ओढ्ने यस पाटनमा वैशाखदेखि भदौ महिनासम्म गोठ रहन्छन् । बडीमालिका दर्शन गर्न जाने दर्शनार्थीले एक दिन सोता पाटनमा अनिवार्य बस्नुपर्ने जनविश्वास रहेको छ ।
सोता पाटनबाट अर्को एक घण्टा उकालो हिँडेपछि घोडा पाटन पुगिन्छ । यस पाटनमा घोडाहरू चराउन छोडिने गरेकाले घोडा पाटन नाम रहेको किंवदन्ती छ । बडीमालिकाको अर्को महत्वपूर्ण र प्राकृतिक सुन्दरताले भरिपूर्ण पाटन हो भित्तोचिर्ना । घोडापाटनबाट हिँडेको करिब दुई घण्टामा भित्तोचिर्ना पुगिन्छ । यहाँ बडीमालिका जाने तीर्थयात्रीका लागि बास बस्न होटलको व्यवस्था पनि गरिएको छ । भित्तोचिर्नाबाट दुई घण्टा चुनैचुन भरिएका पाखाको उकालो र एक घण्टा तेर्सो हिँडेपछि त्रिवेणी अर्थात् बाइस पाटन क्षेत्रको मुख्य पाटनमा पुगिन्छ । यहाँबाट बडीमलिका मन्दिर पुग्न करिब एक दिन लाग्छ ।
भित्तोचिर्नाबाट एक घण्टाको पैदल उकालो हिँडिसकेपछि नौफेरी पुगिन्छ । नौफेरीबाट त्रिवेणी क्षेत्रतिर तेर्सो हिँडेपछि बुढीमाईको थान भेटिन्छ । यो थानको पूर्वबाट बाजुराको पूर्वी भेग तथा मुगु, हुम्ला, जुम्ला र कालिकोटका तीर्थयात्रीहरू, उत्तरपूर्वबाट बाजुरा सदरमुकाम मार्तडी क्षेत्रका तीर्थयात्री सँगै भई त्रिवेणीतिर झर्छन् । यहाँबाट उत्तरतिर बडीमालिका जाने बाटो पर्छ, तर तीर्थालुहरू त्यो बाटो नगई दक्षिणतिर रहेको त्रिवेणीतिर प्रस्थान गर्छन् । कालीकोट रास्कोट घर भएका यस मन्दिरका पुजारी काशी धमलाका अनुसार बुढीमाईले भक्तजनले सोचेका र मागेका कुरा पूरा गरिदिने विश्वास रहेको छ । यहाँबाट सबै तीर्थयात्री सँगै भएर त्रिवेणीतिर लाग्छन् । बुढीमाईको थानबाट एक घण्टा ओरालो हिँडेपछि त्रिवेणी पुगिन्छ । यहाँबाट नै बाइसपाटनको सुरुवात हुन्छ ।
बडीमालिका पाटनको आकर्षक बाइसपाटनमध्ये त्रिवेणी पाटन एक हो । यसलाई बडीमालिका क्षेत्रको राजधानी हो भन्दा पनि अतिशयोक्ति नहोला । यो उच्च ठाउँमा रहेका कारण बाजुरा, कालिकोट र अछामका विभिन्न ठाउँबाट दर्शन गर्न आउने श्रद्धालु भक्तजन तीन दिनअगाडि नै घरबाट हिँड्ने गर्छन् । दोस्रो दिन वा त्रयोदशीका दिन भक्तजनहरू त्रिवेणीमा जम्मा हुन्छन् ।
देवीदेवताको पूजा गर्न त्रिवेणीबाट जल भरेर धामीझाँक्रीहरू आ–आफ्नो मण्डपतिर फर्किन्छन् । यहाँ जल भर्दाखेरीको दृश्य पनि अति रमाइलो हुन्छ । धामीझाँक्रीहरू नाच्दै जल भर्छन् । त्रिवेणीबाट मालिका मन्दिर पुग्न करिब एक दिन लाग्छ । चतुर्दशीको दिन बिहानै भक्तजनहरू त्रिवेणी खोलामा नुहाएर बडीमालिका मन्दिर जाने गरेको त्रिवेणीका पुजारी काशी धमला बताउँछन् । त्रिवेणीको दक्षिणपट्टि रहेको जिउलीमा खेतको फाँट छ । यो फाँटमा धानजस्तै देखिने कुनै बोट रोपिएको देखिन्छ । कुनै खेतमा खाली पानी मात्र भरिएका छन् ।
यात्राका क्रममा यो जिउलो एकपटक हेर्नैपर्ने ठाउँ हो । मानिसको विश्वासअनुसार भाग्यमानी व्यक्तिले यहाँ धानको बाला पाउँछन् । भिर्कोपन्नाको उत्तरपूर्वतिर ठुल्ठुला चट्टानको भिर छ । तलतिर हेर्दा आङ जिरिंग हुन्छ । आफ्नो ग्रह काटिने विश्वासले तीर्थयात्री यो भिरबाट सिक्का फाल्ने गर्छन् । भिर्कोपन्नाबाट अगाडि बढ्न चट्टानको अप्ठ्यारो बाटो छ । यहाँ दर्शनार्थीहरू जमिनमा हात टेकेर आङ घिसार्दै हिँडिरहेका देखिन्छन् । भिर्कोपन्नाबाट २० मिनेटजति अगाडि बढ्दा वासुधारा भेटिन्छ ।
वासुधाराबाट करिब २० मिनेट उकालो चढेपछि पहाडको टुप्पोमा बडीमालिका मन्दिर भेटिन्छ । यस मन्दिरमा साउने चतुर्दशीका दिन मालिका माताको पूजा गरिन्छ । यो वेला यहाँ चार–पाँच दिन अगाडिदेखि नै तीर्थालुको भिड लाग्ने गर्छ । यस वेला सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशलगायत बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दार्चुला तथा बैतडीजस्ता टाढाका भक्तजन पनि आउने गर्छन् । बडीमालिका मन्दिरबाट ३० मिनेटको पैदल बाटो हिँडेपछि नाग साङ्ली देखिन्छ । सर्पको जस्तो आकृति भएकाले यस ठाउँलाई नाग साङ्ली भनिएको भन्ने जनविश्वास छ । यो नाग साङ्ली ठुलो चट्टानको बिच भागमा सर्पझैँ बेरिएर बसेको देखिन्छ । बडीमालिका मन्दिरमा दर्शन गरिसकेपछि यस नाग साङ्ली मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने भनाइ छ ।
बडीमालिकाबाट करिब एक घण्टा पैदल बाटो हिँडेपछि धर्मघर मन्दिर भेटिन्छ । यो मन्दिरमा ठुलो चट्टानको बिचमा ‘एन’ आकारको गुफा रहेको छ । त्यो गुफामा छिरेर पश्चिमबाट पूर्वतिर सहजै जान सके पाप कट्ने जनविश्वास छ । धर्मगुफाभित्र जान सकिएन भने त्यो मान्छे पापी हुने किंवदन्ती पनि रहेको छ । बडीमालीकाबाट करिब चार घण्टा पैदल ओर्लेपछि धलपुरी ताल भेटिन्छ ।
भगवान् शिव र देवी पार्वती आई नाटक गरेर गएकाले यस मन्दिरको नाम नाट्येश्वरी मन्दिर रहन गएको पौराणिक कथा छ । बडीमालिकाबाट उत्तरतर्फको ओरालो बाटोबाट एक दिनको पैदल हिँडेर झर्दा नाट्येश्वरी मन्दिर पुगिन्छ । बडीमालिका मन्दिरको पूजा गरिसकेपछि नाट्येश्वरी मन्दिरमा अनिवार्य पूजा गनुपर्ने जनविश्वास छ । यस मन्दिर वरिपरि कालिका, देवी, धलपुरा र होमकुण्ड गरी चारवटा मन्दिर रहेका छन् ।नयाँपत्रिकाबाट

