धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको अध्ययनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।
मन्त्री पौडेलले मङ्गलबार टीकापुरका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने क्रममा टीकापुर विमानस्थल, टीकापुर पार्क र पद्मप्रकाशेश्वर महादेव मन्दिरको निरीक्षण गरे ।
एक दशकसम्म हवाई सेवा सञ्चालन भएको तथा दुई वर्षअघि पनि करिब छ महिना सेवा सञ्चालनमा आएको टीकापुर विमानस्थल विस्तार वा स्थानान्तरण गरेर भए पनि पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ।
मन्त्री पौडेलले स्थानीयको माग र सभामुख डोलप्रसाद अर्यालको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित विमानस्थलको अवलोकन गर्न आएको बताए ।
“देशका धेरै विमानस्थल सडक विस्तारसँगै बन्द भएका छन्। अहिले स्थलगत अवलोकनका लागि आएको हुँ,” उहाँले भन्नुभयो, “टीकापुर विमानस्थल सञ्चालनको सम्भावना रहेसम्म नागरिक उड्डयन प्राधिकरणले योजना बनाएर काम अघि बढाउनेछ।”
विस्तार वा स्थानान्तरणको माग
इन्जिनियर रविन्द्र विष्टले विमानस्थल विस्तार गर्नुपर्ने वा पाँच वर्षअघि विमानस्थल र खेलकुदको जग्गा सट्टापट्टा गरी विमानस्थल निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्रालयले गरेको तयारीलाई मूर्त रूप दिनुपर्ने बताउनुभयो।
टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपेन्द्र रावलले टीकापुरको सम्भावना र स्थानीयको चाहनाअनुसार विमानस्थल सञ्चालनमा आउनुपर्ने बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव गणेशविक्रम शाहीले हरेक पटक सरकार परिवर्तन हुँदा पर्यटनमन्त्रीको टीकापुर भ्रमण हुने तर समस्या समाधान नहुने अवस्थाले नागरिकमा निराशा पैदा भएको बताए ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पर्यटन प्रवद्र्धनका लागि आवश्यक प्रकृति, संस्कृति र कृषिको राम्रो संयोजन भएको क्षेत्र भएकाले देशका अन्य भागसँग जोड्न हवाई सेवाको आवश्यकता रहेको बताए
कैलाली क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले हवाई सेवा सञ्चालन भए टीकापुर पार्क, डल्फिन क्षेत्र, घोडाघोडी ताल र निर्माणाधीन राजकाँडा केवलकारलगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
कैलाली क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य केपी खनालले टीकापुर विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका विमानस्थलसमेत सञ्चालनमा ल्याउन सहज हुने बताउनुभयो। उहाँले भारतसँगको नजिकको दूरीका कारण मानसरोवर यात्रु तथा माउन्टेन फ्लाइटका लागि समेत सम्भावना रहेको उल्लेख गरे ।
पार्क र मन्दिरको विकास माग
टीकापुर पार्कको अवलोकनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले पार्कको ऐतिहासिक, भौगोलिक र प्राकृतिक महत्त्व रहेको भन्दै नगरपालिकाले तयार पारेको १४ करोड रुपियाँको विस्तृत परियोजना प्रस्ताव कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो।
पद्मप्रकाशेश्वर महादेव मन्दिरका अध्यक्ष विदुरलाल कास्थले मन्दिरको जीर्णोद्धार, धार्मिक क्षेत्र घोषणा, गुठी संस्थानबाट प्राप्त हुँदै आएको पूजा खर्च निरन्तरता तथा पुरातात्त्विक महत्त्वको मन्दिर भएकाले सुरक्षाको व्यवस्था गर्न माग गर्नुभयो।
जवाफमा मन्त्री पौडेलले पुरातत्त्व विभागसँग समन्वय गरी जीर्णोद्धारलगायत आवश्यक काम अघि बढाउने बताउनुभयो। उहाँले मन्दिरबिनाका मूर्तिका लागि मन्दिर निर्माण गरी स्थापना गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो। मन्त्री पौडेलले मन्दिरमा पूजा आरतीसमेत गर्नुभएको थियो।
नैमिषारण्य–पद्मप्रकाशेश्वर मन्दिर–कैलास मानसरोवरबीच पौराणिक सम्बन्ध रहेको र भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा सेती राजमार्ग निर्माणाधीन रहेकाले यस क्षेत्रको पर्यटन सम्भावना बढ्ने अपेक्षा गरिएको छ।
टीकापुरबाट विगतमा अछाम, जुम्ला र काठमाडौँसम्म नियमित हवाई सेवा सञ्चालन हुने गरेको थियो। तत्कालीन शाही नेपाल वायुसेवा निगमका जहाज संख्या घट्दै जानु र देशमा द्वन्द्व बढेपछि हवाई सेवा प्रभावित हुँदै बन्द भएको थियो। २०८० मङ्सिरदेखि जेठसम्म तारा एयर र यती एयरलाइन्सले टीकापुर–नेपालगञ्ज–काठमाडौँ कनेक्टिङ फ्लाइटसमेत सञ्चालन गरेका थिए। गोरखापत्र

