काठमाण्डौँ: नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवाले आफू पुन: नेपाली भूमिमा पाइला टेक्न लागेको जानकारी दिएका छन् । बीपी स्मृति दिवसको पूर्वसन्यामा प्रेस विज्ञप्ति जारी गर्दै देउवाले स्वदेश फर्किन लागेको जानकारी दिएका हुन् ।
उनी अहिले उपचारका लागि देशबाहिर छन् । म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछुु, सन्देशमा देउवाले भनेका छन् ।
सन्देशमा देउवाले प्रजातन्त्र बलियो बनाउन मेलमिलापको नीति आवश्यक रहेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रजातन्त्रमा प्रतिपक्षका आवाज थुन्न नसकिने उनको भनाइ छ ।

