धनगढी । अभौतिक मुद्रा कारोबार गरेको आरोपमा कैलाली प्रहरीले धनगढीबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –४ बसपार्कस्थित एक फल्याटबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक रहेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिकाका ३४ वर्षीय प्रेमबहादुर साउँद, उदयपुरको त्रियुगा नगरपालिका –१२ का ३४ वर्षीय दिपिन मगर, भारतकोे दिल्ली राज्यका रणी बस्ने ३६ वर्षीय रविकुमार सूर्यवंशी, भारतकै हरियाणास्थित सोनिपडाका ३७ वर्षीय दीपककुमार जाटलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, चितवनको भरतपुर नगरपालिका –१ रामनगरका ३७ वर्षीय जितेन्द्र कट्टेल, ललितपुरको महालक्ष्मी नगरपालिका –८ शम्भुचौरका ४३ वर्षीय राजन मोक्तान, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –९ निलगिरीका ४५ वर्षीय राजन चुडाल पनि पक्राउ परेका छन् ।
पक्राउ परेका अरु व्यक्तिमा झापाको दमक नगरपालिका –१ सुकुम्बासी बस्तीका ४६ वर्षीय हरिप्रसाद चापागाई र कैलालीको धनगढी उपमहानगरपालिका –३ भन्सारका ३९ वर्षीय ज्ञानेन्द्र ढकाल रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।
केही व्यक्तिहरुको समूहले घरको फल्याट भाडामा लिइ युवायुवतीहरुलाई राखेर शंकास्पद् रुपमा सफ्टवेयरमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो । अदालतबाट म्याद लिएर अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

