धनगढी। चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । यहाँको उत्तरी क्षेत्रमा रहेको व्यास गाउँपालिका–१ मा पर्ने तिङ्कर नाका छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदायका मानिसलाई चिनियाँ पक्षले अनौपचारिक रूपमा विगतको चलन अनुसार ताक्लाकोट प्रवेश दिन थालेको हो ।
गत २०८२ कात्तिक अन्तिम साता बन्द भएको नाका सोमबार खुलेको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीन हिमालयमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले जानकारी दिए ।
सताव्दिऔँदेखि यहाँको छाङरु र तिङ्कर गाउँका सौका समुदायका मानिस चीनको स्वशासित क्षेत्रस्थित ताक्लाकोट बजारमा व्यापारका लागि जाने गर्छन् । कोरोनाको समयमा लामो समय बन्द भएको यो नाका गत वर्षदेखि खुल्दै आएको छ ।
तिङ्कर नाका आधिकारिक नाकाका रूपमा नभए पनि विगत लामो समयदेखि यहाँका सौका समुदायका मानिस ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा तिङ्कर नाका प्रयोग गर्दै आवतजावत गर्ने गर्छन् ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि चीनको ताक्लाकोटस्थित स्थानीय सरकार विदेश विभागका प्रतिनिधिसँग व्यापारीका लागि नाका सञ्चालनका विषयमा आग्रह गरेको उहाँले बताउनुभयो । नाका खुलेसँगै यहाँका ६३ जना व्यापारी व्यापार व्यवसायका लागि ताक्लाकोट गएका छन् ।
उनले भने “ताक्लाकोटमा केही महिना खाद्य सामग्री र लुत्ताकपडाको व्यापार गर्छौं । सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ ।” ताक्लाकोटमा दार्चुलाका स्थानीयले ३२ वटा पसल र चार वटा होटेल सञ्चालन गर्दै आइरहेका छन् । गत वर्ष साउन ७ देखि ९ गतेसम्म दुई दिनका लागि खुलेको तिङ्कर नाका यस वर्ष पनि खुलेको छ ।
स्थानीयको आवश्यकता अनुसार ताक्लाकोटको स्थानीय सरकारले नाका खुल्ने तथा बन्द गर्ने गरेको उहाँको भनाइ छ । नेपाल–चीन तिङ्कर नाका खुलेको बारे व्यासका स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनील पौडेलले जानकारी दिए ।


