धनगढी । अछामको ढकारी गाउँपालिका–४ बलाताकी ३५ वर्षीया मनिषा देवी साउँद मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
शुक्रबार बिहान करिब ११ बजे घरबाट हराएकी साउँदलाई खोजी गर्ने क्रममा आइतबार साँझ पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा भेटाइएको थियो।
सो घटनाबारे अहिले जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान थालेको जनाएको छ। जाहेरी नआइसकेकाले नियन्त्रणमा लिएकाको परिचय भने अहिले खुलाइएको छैन।
प्रहरीका अनुसार वडा सदस्यसमेत रहेकी साउँदको परिवारले शनिबार दिउँसो प्रहरी चौकी ढकारीमा हुलियासहित खोजीका लागि निवेदन दिएको थियो। त्यसपछि प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो।
खोजीका क्रममा घरदेखि करिब ५०० मिटर टाढा रहेको वन क्षेत्रमा उनको शव फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि साउँद र सोही वडाका एक स्थानीय राजनीतिक नेतालाई एउटै कोठाभित्र फेला पारेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको थियो। भिडियोमा स्थानीयले दुवै जनालाई प्रश्न सोधिरहेको देखिन्छ।
उक्त घटना सार्वजनिक भएपछि साउँद सम्पर्कविहीन भएकी थिइन्। प्रहरीले मृत्युको कारणबारे कुनै निष्कर्षमा नपुगी अनुसन्धान जारी रहेको जनाएको छ। सामाजिक सञ्जालमा फैलिएका दाबीहरूको पनि तथ्यगत आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


