धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम ऐतिहासिक सुदूरपश्चिम प्रदेश अधिवेशन आगामी असार १ गते धनगढीमा आयोजना हुने भएको छ। पार्टीले प्रदेश संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको छ।
अधिवेशनमा प्रदेशभरका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। अधिवेशनमार्फत प्रदेश नेतृत्व चयनका साथै संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा तथा प्रदेशको समृद्धिका विषयमा छलफल हुने जनाइएको छ।
यसैबीच प्रदेश सदस्य पदका लागि युवा नेता झनक खनाल ले उम्मेदवारी घोषणा गरेका छन्। उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै समृद्ध सुदूरपश्चिम निर्माणको अभियानलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खनालले युवा नेतृत्व, सकारात्मक परिवर्तन र जनमुखी राजनीतिमार्फत पार्टीलाई थप सशक्त बनाउन आफूले भूमिका खेल्ने बताए। उनले प्रदेश सदस्यमा निर्वाचित भए सुदूरपश्चिमका युवाको आवाजलाई प्रभावकारी रूपमा पार्टीभित्र स्थापित गर्ने र संगठनलाई जनतासँग अझ नजिक बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्।
रास्वपाले “साथी बनौं, परिवर्तन गरौं, समृद्ध प्रदेश निर्माण गरौं” भन्ने नारासहित आयोजना गर्न लागेको अधिवेशनलाई सुदूरपश्चिम प्रदेशमा पार्टी संगठन विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


