धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्वतयारी पूरा भएको सरोकारवालाले जनाएका छन् । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बिहीबार धनगढीमा आयोजना गरेको ‘दोस्रो प्रादेशिक मनसुन फोरम’ कार्यक्रममा सरोकारवाले पूर्वतयारी सम्पूर्ण रूपमा पूरा भएको बताएका हुन् । यो प्रदेशले हरेक वर्ष बाढीपहिरो, डुबान जस्ता मनसुनजन्य विपत्को सामना गर्दै आएको छ । त्यस्तो विपत्मा बर्सेनि जनधनको क्षति हुने गरेको छ ।
मनसुनजन्य विपत्का घटनाबाट जोगिनका लागि पूर्वसूचना र पूर्वतयारी सबैभन्दा बढी आवश्यक रहेको सरोकारवालाको भनाइ छ । मनसुनका बेला विपत् पूर्वसूचना प्रवाहका लागि आफ्नो सबै सञ्जाललाई चुस्तदुरुस्त अवस्थामा राखेको जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय साहले बताउनुभयो । उहाँले मनसुन आपत्कालीन कार्ययोजना, २०८३ अनुसार काम भइसकेको बताए ।
उनका अनुसार बाढीबारे सूचना दिनका लागि प्रदेशभर ३४ वटाभन्दा बाढी मापन केन्द्र स्थापना गरिएको छ । सबै बाढी मापन केन्द्रहरू स्वचलित छन् । यसै गरी ७६ वटा वर्षा मापन केन्द्र स्थापना गरिएकोमा ४२ वटा स्वचलित छन् । प्रदेशमा अझै २३ वटा बाढी मापन केन्द्र र ११÷१२ वटा वर्षा मापन केन्द्र स्थापना गर्न आवश्यक रहेको जनाइएको छ । प्रमुख साहले भन्नुभयो, “दुई वर्षअगाडि अध्ययन गर्दा बाढी मापन केन्द्र र वर्षा मापन केन्द्र थप्नुपर्ने देखिएपछि केही थप पनि भइसकेको छ ।” जल तथा मौसम विज्ञान कार्यालयले मास एसएमएस पठाएर समुदायलाई बाढीको सूचना दिँदै आएको छ । यस वर्षदेखि आइभिआर र ‘सेल ब्रोडकास्ट’ सुरु गर्ने तयारी भइरहेको प्रमुख साहले बताए ।
सामान्यतः जुन १३ मा नेपालमा मनसुनको प्रवेश हुने गरे पनि गत वर्ष मे २९ मै मनसुन आइपुगेको थियो । त्यसै गरी अक्टोबर २ मा मनसुन बाहिरिने तिथि रहेकोमा अक्टोबर १० मा मात्रै नेपालबाट बाहिरिएको थियो । नेपालमा मनसुन सरदर ११२ दिन रहने गर्छ । गत वर्ष १३५ दिनसम्म नेपालमा मनसुन रहेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।
यस वर्षको मनसुन अब छिट्टै नेपालमा भित्रिने भएकाले विपत् पूर्व, विपत्को बेला र विपत्पछि गर्नुपर्ने कार्यका लागि प्रदेश सरकार तयार रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन दाहालले बताए । उनले खोज उद्धारका लागि कृत्रिम घटनामा आधारित अभ्यासहरू पनि भइरहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना ९एमपिआरपी० नै अद्यावधिक गरेन । एमपिआरपी बनाइए पनि कार्यकारी परिषद्बाट स्वीकृत हुन सकेन । यस वर्ष अहिलेदेखि नै तयारी भइरहेको जनाउँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् स्रोतव्यक्ति जनक धामीले असार पहिलो साता ९मनसुन पुग्नु अगावै० एमपिआरपी स्वीकृत गरिने बताए । उनले मन्त्रालयले सञ्चार र व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गरिरहेको बताए ।
धामीले भन्नुभयो, “कैलालीको जिल्ला प्रशासन कार्यालय, धनगढी विमानस्थल र बैतडीको खोड्पेमा रहेको गोदाममा आवश्यक सामग्री मौज्दात छन् । आवश्यक थप सामग्री सहयोगी निकायसँग पनि छन् ।” यसै गरी विभिन्न क्लस्टर हेर्दै आएका भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका विपत् स्रोत व्यक्तिले पनि पूर्वतयारी पूरा भएको बताएका छन् । प्रदेशका नौ वटै जिल्लामा खाद्य व्यापार कम्पनी लिमिटेडले खाद्यान्न मौज्दात राखेका जनाइएको छ ।
यस्तै नेपाली सेनाले पनि सम्पूर्ण रूपमा तयार रहेको जनाएको छ । नेपाली सेनाका प्रमुख सेनानी निर्मल थापाले विपत्पूर्व, विपत्का बेला र विपत्पछि तिनै चरणमा नेपाली सेनाले अरू सुरक्षा निकायसँग समन्वय गरेर काम गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले कार्य सञ्चालनका लगि स्थानीय तहसम्मै नेपाली सेनालाई निर्देशन दिइसकेको उल्लेख गर्दै भन्नुभयो, “उद्धारका लागि हेलिकोप्टर सुर्खेतमा तयारी अवस्थामा छ । टेन्ट, रासन व्यवस्थापनका लागि पनि आदेश दिइसकेका छौँ ।”


