धनगढी – कैलालीमा हत्या गरेर शव फालिएको घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द, प्रहरी सहायक हवल्दार महेशबहादुर चन्द र सन्तोष महरा, तथा प्रहरी जवान हर्कबहादुर बोहरा रहेका छन्। उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार कैलारी गाउँपालिका–९ निवासी राजकुमार रानाको शव गत जेठ २४ गते त्रिवेणी घाट क्षेत्रमा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा ती प्रहरी कर्मचारीहरूले सक्रिय भूमिका निर्वाह गरी तथ्य तथा प्रमाण संकलनमा महत्वपूर्ण योगदान पुर्याएका कारण पुरस्कृत गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानबाट राजकुमार रानामाथि कुटपिट गरी हत्या गरिएको र त्यसपछि शव मोहना नदी किनारमा फालिएको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ निवासी ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु राना तथा उनीहरूकी छोरी गीता रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई जना भने फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले घटनाको सफल अनुसन्धानमा खटिएका कर्मचारीलाई पुरस्कृत गर्दै आगामी दिनमा पनि अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


