धनगढी । सडक सञ्जालको पहुँचबाहिर रहेको यहाँको एक मात्र स्थानीय तह अपिहिमाल गाउँपालिका अब सडकसँग जोडिँदै छ । सदरमुकाम खलङ्गाबाट करिब २३ कोस उत्तरपश्चिममा रहेको पालिकाको वडा नं। ३ को गौड्याखोलासम्म सडक पुगेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिए ।
सडक सञ्जालसँग जोडिन बाँकी रहेको दार्चुलाको एक मात्र पाालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यो सडकलाई प्राथमिकतामा राखेको उनले बताए ।
सडक अभावका कारण स्थानीयले बर्सौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्दै आएको अपिहिमाल गाउँपालिका– १ का सोबनसिंह लोथ्यालले बताए । अपिमा सडक पहुँच नहुँदा सबै सामान ढुवानी गर्नुपर्ने स्थानीयलाई बाध्यता छ । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म सामान ढुवानी गरेको प्रतिकिलो १० रुपियाँ लाग्ने गरेको उहाँले बताउनुभयो । स्थानीय खडक रोकायाले भन्नुभयो, “अपि सडकको पहुँचसँग जोडिए ढुवानी भाडामा केही राहत होला ।” गाउँपालिकाको वडा नं। ५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले वडा नं। ३ को भट्टारगाउँसम्म सडकको ट्र्याक खुलेको छ ।
स्थानीय दीपक टमटा हालसम्म सडक सञ्जालसँग नजोडिएको गाउँपालिका केन्द्रसम्म सडक पुग्नेमा विश्वास व्यक्त गर्नुहुन्छ ।
सडक पुगेपछि स्थानीयलाई यातायातमा सहज हुने उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष बोहोराका अनुसार भट्टारभन्दा अगाडिसम्म सडक पुगिसकेको छ भने सडक निर्माणको काम जारी छ । निकट भविष्यमै पालिका केन्द्र खण्डेश्वरीसम्म सवारी सञ्चालन हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । गाउँपालिकाका वडा नं। १ र २ भने सडक सञ्जालसँग तत्कालै जोडिने सम्भावना छैन । वडा नं। ३ को काफलधारसम्म सडक निर्माण भएमा सो वडाका स्थानीयका लागिसमेत राहत हुने अध्यक्ष बोहोराले बताए ।


