धनगढी । सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसको असन्तुष्ट पक्षले मन्त्री छनोट गर्न नसकेपछि नाम केन्द्रमा सिफारिस गरेको छ । संसदीय दलको नेताको पदबाट मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान चलाएका सांसदहरूलाई सरकारको भागबण्डामा समेटिएपछि तत्कालका लागि विवाद साम्य भएको थियो । दुई मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारी पाएको उक्त समूहले अहिलेसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन।
हिजो र आज भएको छलफलबाट पनि सहमति जुट्न नसकेपछि सबै सम्भावित नाम केन्द्रमा पठाइएको असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टले जानकारी दिए।
‘हामीबीच सहमति हुन सकेन । त्यसैले सबैको नाम केन्द्रमा पठाएका छौं । केही घण्टामै केन्द्रबाट मन्त्रीको नाम आउनेछ,’ उनले भने ।
उनले समावेशिताको आधारलाई समेत ध्यानमा राखेर सबै सांसदहरूको नाम केन्द्रमा पठाइएको बताए। कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा अहिले असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री तथा मुख्यमन्त्री पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ।
मुख्यमन्त्री पक्षबाट आर्थिक मामिला मन्त्रालयमा विक्रमसिंह धामीलाई मन्त्री बनाउने लगभग निश्चित भइसकेको छ। तर असन्तुष्ट पक्षभित्र मन्त्री छनोटमा सहमति नजुट्दा प्रक्रिया लम्बिएको हो ।केन्द्रबाट आएको नामलाई नै अन्तिम स्वीकृति दिई शपथ गराउने तयारी गरिएको स्रोतले जनाएको छ ।


