धनगढी । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद र सरकारले काम गर्दा निरन्तरता होइन, क्रमभंगता गर्दै अघि बढ्नुपर्ने बताएका छन् । अन्तरव्यवस्थापिका सम्मेलन २०८३ को शनिबार टीकापुरमा उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताए ।
उहाँले भन्नुभयो, “हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ। असफल कामलाई निरन्तरता होइन, क्रमभंगतामा जानुपर्छ।”
सभामुख अर्यालले सङ्घीय संसदमा सबै प्रदेशका सभामुख र उपसभामुख सहभागी हुने यस प्रकारका कार्यक्रमले नतिजामूलक उपलब्धि दिनुपर्ने र त्यसको प्रतिफल नागरिकले स्पष्ट रूपमा थाहा पाउनुपर्ने बताए ।
उनले संविधानले तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रलाई अघि बढाउन अघिल्लो पुस्ताको अनुभव र बलिदानको सम्मान गर्दै जेनजी पुस्ताको भावना समेटेर अघि बढ्नु आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यसअघिका सम्मेलनमा गरिएका घोषणाहरूको कार्यान्वयन अवस्था र सङ्घीय तथा प्रदेश व्यवस्थापिकाले गर्न नसकेका काम तथा स्थानीय तहको भूमिका छुटेको विषयमा समीक्षा हुनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशको टीकापुरमा सुरु भएको एघारौँ अन्तरव्यवस्थापिका सम्मेलनमा सङ्घीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, मधेश प्रदेशबाहेकका प्रदेश सभाका सभामुख तथा उपसभामुखहरू, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू, सङ्घ र प्रदेश व्यवस्थापिकाका सचिव तथा सहसचिवहरू र सुदूरपश्चिम प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरू सहभागी हुनुहुन्छ।
सङ्घीयता कार्यान्वयनका लागि सङ्घीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्व सुदृढ गर्ने उद्देश्यसहित सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापन तथा अन्तरव्यवस्थापिका मञ्चको आयोजनामा सम्मेलन गरिएको हो।


