कैलाली । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्य पदमा गरिएको नियुक्ति गायक तथा स्रष्टा रामप्रसाद अवस्थीले अस्वीकार गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अवस्थीले प्रतिष्ठानको नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
उनले सुदूरपश्चिमका हजारौँ भाषा, साहित्य, कला तथा संस्कृतिका स्रष्टाहरूलाई ओझेलमा पारेर प्रतिष्ठानको नेतृत्वमा बाहिरी जिल्लाका व्यक्तिहरूलाई प्राथमिकता दिइएको भन्दै आपत्ति जनाएका हुन्।
अवस्थीले कुलपति र उपकुलपति नियुक्तिको प्रक्रियाले सुदूरपश्चिमका स्रष्टा समुदायमा गम्भीर प्रश्नहरू खडा गरेको उल्लेख गरेका छन्।
नियुक्तिमा योग्यता, योगदान र क्षेत्रीय भावनाभन्दा अन्य स्वार्थले स्थान पाएको हो कि भन्ने आशंका व्यापक रूपमा उठेको उनको भनाइ छ।
उनले सुदूरपश्चिमका स्रष्टाहरूको सम्मान र आत्मसम्मानमा चोट पुग्ने गरी गरिएका निर्णयहरूले प्रतिष्ठानको मूल उद्देश्यलाई कमजोर बनाउने बताएका छन्।
भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि स्थापना गरिएको संस्थामै सुदूरपश्चिमका स्रष्टाहरू उपेक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको उनको टिप्पणी छ।
अवस्थीले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिको इतिहासमा यो दिनलाई “कालो दिन” का रूपमा स्मरण गरिने समेत बताएका छन्। साथै उनले प्राज्ञ सदस्य पदको नियुक्ति आफूले स्वीकार नगर्ने स्पष्ट घोषणा गरेका छन्।


