धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित वृहत एकता तथा जागरण कार्यक्रममा नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।
फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टी भित्र बृहत एकताका साथ १५ औ माहाधिवेशनमा होमिनुको बिकल्प नभएको बताए।
उनले भने,कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौं मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो। यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो। त्यसैले आज हामी कसलाई हराउने भन्ने होइन, कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ।
कांग्रेस भित्र एकताको बहस गर्दै आएका महरले पार्टीभित्र देखिएको मतभेदलाई स्वाभाविक प्रक्रिया बताउँदै असहमति हुन सक्ने तर मनभेद हुन नहुने धारणा राखे।
जहाँ विचार हुन्छ, त्यहाँ बहस हुन्छ। जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ फरक मत हुन्छ। तर विचार फरक हुँदैमा हृदय टाढिनु हुँदैन। कांग्रेसको सुन्दरता नै विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता हो,उनले भने।
उनले आफ्नो मन्तव्यका क्रममा महाभारतको प्रसंग उल्लेख गर्दै एकताको शक्ति इतिहासले प्रमाणित गरिसकेको भन्दै अगाडि थपे ु महाभारतमा पाण्डवहरू संख्या कम थिए, शक्ति कम थियो। तर उनीहरूबीच विश्वास थियो, एकता थियो, साझा लक्ष्य थियो। कौरवहरूसँग विशाल सेना थियो, शक्ति थियो, तर उनीहरू विभाजित थिए। अन्ततः इतिहासले देखायो । विजय संख्याले होइन, एकताले दिलाउँछ,उनले भावुक हुँदै भने।
महरले कांग्रेसको इतिहास सम्झाउँदै बी।पी। कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र लोकतन्त्रलाई केन्द्रमा राखेको बताए।
हाम्रा अग्रजहरूले सत्ता होइन, सिद्धान्तलाई ठूलो ठान्नुभयो। जेल, यातना र संघर्ष सहेर बनाएको पार्टीलाई आज हामीले व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण कमजोर बनायौं भने इतिहासले हामीलाई कहिल्यै माफ गर्ने छैन, उनले भने।
देश अहिले जटिल मोडमा रहेको उल्लेख गर्दै महरले युवापलायन, देश विकासमा महिलाको सहभागिता बढाउने सवाल,बेरोजगारी, शिक्षा र स्वास्थ्य तथा महंगाईको मारमा परेको बजार क्षेत्रका समस्याले जनतामा निराशा बढाएको बताए। यस्तो अवस्थामा नेपाली कांग्रेस जनताको भरोसाको केन्द्र बन्नुपर्ने उनको भनाइ थियो।
आज लाखौं युवाहरू आफ्नो भविष्य खोज्दै विदेशिन बाध्य छन्। किसान निराश छन्, विद्यार्थी अन्योलमा छन्, जनतामा राजनीतिक नेतृत्वप्रति भरोसा घट्दै गएको छ। यस्तो बेला कांग्रेसभित्रको एकता केवल पार्टीको आवश्यकता होइन, देशको आवश्यकता हो,उनले जोड दिए।
महरले अन्त्यमा सबै नेता कार्यकर्तालाई गुट, अहंकार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई बलियो बनाउन आग्रह गरे।
कार्यकर्तालाई गुट, आग्रह र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गर्दै कांग्रेसको मूल शक्ति भनेकै विविध विचारलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने क्षमता भएको बताए।
हामी फरक धाराका हुन सक्छौं, फरक विचारका हुन सक्छौं, तर हाम्रो अन्तिम लक्ष्य एउटै हो लोकतन्त्रको रक्षा, कांग्रेसको मजबुती र समृद्ध नेपाल निर्माण। नदीका धाराहरू फरक भए पनि अन्ततः समुद्र एउटै हुन्छ,उनले भने।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ता, युवा तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


