धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले कांग्रेस तत्काल फुट्ने सम्भावना नरहेको बताएका छन्। पार्टीको वृहत् एकता र पुनर्जागरणका लागि प्रदेश समितिले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका नेताहरूले सबैलाई समेट्नुपर्ने बताए। त्यसो हुँदा पार्टी नफुट्ने उनको दाबी थियो।
‘अहिले पनि ठूलो ताकत सानेपाभन्दा बाहिर छ। सानेपा र बाहिर रहेको यो शक्ति एकै ठाउँमा जानुपर्छ। त्यसका लागि गगन थापाले समाधानको बाटो दिनुपर्छ, ’ उनले भने, ‘तत्काल पार्टी फुट्दैन। अहिलेको नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ। ’
१४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा अन्य नेताहरूलाई अपमानपूर्ण व्यवहार गर्न नहुने उनले भनाइ थियो । ‘हिजोका पदाधिकारीलाई स्थापित गर्न हामीले भनेका छैनौँ। हिजो नेतृत्व गरेका नेताहरूको मानमर्दन गरिनु हुँदैन, ’ उनले भने, ‘१५औँ महाधिवेशनको सुनिश्चितताका लागि हाम्रो एकता आवश्यक छ। ’
कानुनी रुपमा गगन थापा पार्टी सभापति भएपनि भावनात्मक रुपमा सबैको सभापति बन्न नसकिरहेको उनको तर्फ थियो ।
‘नियमित अधिवेशन र विशेष अधिवेशनपछि कांग्रेसको नेतृत्व स्थापना भयो। त्यो नेतृत्वप्रति असहमति हुँदा हुँदै पनि अदालत र निर्वाचनले आधिकारिकता दिएपछि हामीले त्यो निर्णय आत्मसात गरेका छौँ, ’ उनले भने, ‘कानुनी रूपमा आत्मसात गरे पनि कांग्रेस अहिले एक ठाउँमा छैन।
सभापति बलायरले देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई फुटको रूपमा लिन नहुने बताए १० गतेको कार्यक्रमले सुदूरपश्चिम प्रदेशबाट कांग्रेसको रणनीतिक ‘मुभ’ कस्तो हुने भन्नेबारे निष्कर्ष आउने संकेत उनले गरे।
‘सुदूरपश्चिम प्रदेशबाट आगामी दिनमा कांग्रेस कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल गर्न हामीले कार्यक्रम राख्ने तयारी गरेका छौँ, ’ उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुन्छ। ’
उक्त कार्यक्रमलाई गुटको भेलाका रूपमा लिन नहुने उनको तर्क थियो। ‘यो गुटको भेला होइन। कांग्रेस प्रदेशको कार्यक्रम हो। मेरो एउटै चिन्ता कांग्रेसलाई एक बनाउने हो, ’ उनले भने, ‘कांग्रेसलाई सक्ने प्रयास भइरहेको छ। कांग्रेस सकिएको दिन नेपालको राष्ट्रियता सकिन्छ। ’
आफूहरू एकताको पक्षमा रहेको तर अहिलेको नेतृत्वबाट एकताको सन्देश नआइरहेको सभापति बलायरले स्पष्ट पारे। कांग्रेसलाई विभाजन गर्ने मनसाय निवर्तमान सभापति शेरबहादुर देउवाको पनि नरहेको उनले बताए।
‘केही व्यक्तिहरूलाई सम्बोधन गरेको भन्दैमा सबैलाई सम्बोधन गरिएको भन्न सकिँदैन। पार्टीका नेताहरू अपमानित भइरहेका छन्। राष्ट्रिय सभा दलका नेतालाई अपमानजनक ढंगले हटाइएको छ। दास र लास बन्न सकिँदैन, ’ उनले भने, ‘वर्तमान नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ। ’
कांग्रेसले इतिहासमै ठूलो पराजय भोगेको भन्दै अब सबैलाई समेटेर स्थानीय तथा प्रदेश निर्वाचनमा बलियो शक्ति बन्नुपर्ने धारणा सभापति बलायरले राखे।
एमालेसँग सत्ता सहकार्यमा रहेको कांग्रेस तत्काल नेकपासँगको सहकार्यमा जान सक्ने सम्भावना न्यून रहेको उनले बताए। सत्ता समीकरण फेरबदल हुँदा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको समन्वय र समझदारीमा हुने उनले बताए।
‘अहिलेको सानेपाको सरकार गठबन्धनविरोधी हो, ’ उनले भने, ‘देउवा र ओलीको सहमतिपछि मात्रै यी प्रदेश सरकारहरू हेरफेर हुन्छन्। ’


