धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल मेउलीले मङ्गलबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाह र राजदूत डेनियलबिच भेटवार्ता भएको हो । भेटका क्रममा स्विस सरकारले नेपालमा गर्दै आएको सहयोगका विषयमा छलफल भएको थियो । छलफलका क्रममा मुख्यमन्त्री शाहले स्विस सरकारले नेपालमा सङ्घीय शासनप्रणालीको सुदृढीकरण, रोजगारी सिर्जना, सिप विकास, सुरक्षित वैदेशिक रोजगार, कृषि विकासलगायतको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले विपत् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनसहित प्राविधिक क्षेत्र महìवपूर्ण सहयोग भएको उल्लेख गरे ।
राजदूत डेनियलले नेपालको बृहत्तर विकासका लागि स्विट्जरल्यान्डको निरन्तर सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले स्विट्जरल्यान्ड र नेपालबिचको कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव समारोहका सन्दर्भमा मुख्यमन्त्री शाहलाई जानकारी गराउनुभएको थियो ।


