धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा पार्टीको बृहत्तर एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको छ । प्रदेश कार्यसमितिले जारी गरेको सूचनाअनुसार भेला २०८३ जेठ १० गते बिहान ९ बजे धनगढी शहिद गेट स्थित सौराई स्क्वायर मा सञ्चालन हुनेछ । कार्यक्रममा पार्टीका अग्रज नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भेलामा नेपाली कांग्रेसका पूर्व केन्द्रीय पदाधिकारी, निवर्तमान तथा वर्तमान केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, नौ वटै जिल्लाका जिल्ला सभापति, प्रदेश सदस्य तथा आमन्त्रित सदस्यहरूको सहभागिता रहने बताइएको छ ।
यस्तै पूर्व जिल्ला सभापति, पूर्व मन्त्री, राष्ट्रियसभा सदस्य, पूर्व राज्यमन्त्री, पूर्व सांसद, सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरू पनि कार्यक्रममा सहभागी हुने प्रदेश सभापति बिरबहादुर बलायरले जानकारी दिएका छन् ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार, जिल्ला कार्यसमिति पदाधिकारी, पालिका सभापति, प्रदेश अधिवेशन प्रतिनिधि लगायतको उपस्थिति रहने जनाइएको छ ।
जिल्ला समन्वय प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, पार्टीका केन्द्रीय तथा प्रदेश विभागका पदाधिकारी सदस्य, साथै भातृ तथा शुभेच्छुक संघ–संस्थाका केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय तहका अध्यक्ष, पदाधिकारी सदस्य तथा शुभेच्छुक महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । पार्टीले उक्त भेलालाई संगठन सुदृढीकरण, आन्तरिक एकता र पुनर्जागरण अभियानको महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको जनाएको छ ।


