धनगढी: नेपालका हिमालहरू केवल भूगोलका उचाइ होइनन्, ती मानिसका सपना, साहस र अनुभूतिका शिखर पनि हुन् । पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलामध्ये सुदूरपश्चिममा अवस्थित अपी हिमाल आफ्नै सौन्दर्य, रहस्य र आकर्षण बोकेको हिमाल हो । वर्षौंदेखि तस्वीर र कथाहरूमा देख्दै आएको अपी हिमाललाई आफ्नै आँखाले हेर्ने अवसर मिल्दा मनभित्र छुट्टै उत्साह थियो । तर त्यो उत्साह वास्तविक यात्रामा बदलिँदा भने यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा रहेन, जीवनकै अविस्मरणीय अनुभूति बन्यो ।
धनगढीबाट सुरु भएको यात्रा क्रमशः पहाडतिर उक्लिँदै गयो । तराईको गर्मी छोडेर पहाडको चिसो हावा महसुस गर्दै अगाडि बढ्दा प्रकृतिको स्वरूप पनि फेरिँदै गइरहेको थियो । बाटोभरि हरिया जंगल, खोलानाला, झरना र पहाडी बस्तीहरूले यात्रालाई झन् रमाइलो बनाइरहेका थिए । सडक यात्रा जति अगाडि बढ्थ्यो, मनमा अपी हिमाललाई नजिकबाट हेर्ने उत्सुकता त्यति नै बढ्दै जान्थ्यो ।
यस यात्राको सुरुवाती दुई दिन अझ विशेष बने । ुसुन्दर सुदूरपश्चिम अभियानुका परिकल्पनाकार तथा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल दाइसँग सँगै यात्रा गर्ने अवसर मिल्यो । उहाँसँगको यात्राले केवल बाटो छोट्याएन, सुदूरपश्चिमको पर्यटन, संस्कृति र सम्भावनालाई अझ नजिकबाट बुझ्ने अवसर पनि दियो । यात्राका क्रममा उहाँले सुदूरपश्चिमलाई पर्यटनको प्रमुख गन्तव्य बनाउन आवश्यक पूर्वाधार, प्रचार र स्थानीय सहभागिताबारे आफ्ना धारणा सुनाइरहनुभएको थियो ।
हामीले सँगै बिताएका ती दुई दिन यात्राका सुन्दर क्षण बने । बाटोमा स्थानीयसँग गरिएका कुराकानी, चियापसलमा बसेर खाइएका सामान्य खाना र यात्राका क्रममा देखिएका दृश्यहरूले यात्रालाई झन् आत्मीय बनाइरहेका थिए । दोस्रो दिन अपी गाउँपालिकाको नौपाटामा आयोजित कार्यक्रममा सहभागी भएपछि उहाँ स्वास्थ्य अवस्था र व्यस्तताका कारण धनगढी फर्किनुभयो । तर हाम्रो यात्रा भने त्यहाँबाट अझ रोमाञ्चक बन्दै अपी आधारशिविरतर्फ अघि बढ्यो ।
पदयात्राको वास्तविक स्वाद त्यहीँबाट सुरु भयो । उकालो र ओरालो पार गर्दै हामी हिमालतर्फ उक्लिन थाल्यौँ । बाटोभरि प्रकृतिको अनुपम सौन्दर्य फैलिएको थियो । कतै बाक्ला जंगल, कतै खुला घाँसे मैदान, कतै चट्टानबाट खसिरहेका झरनाहरू । चराचुरुङ्गीको आवाज र खोला बगेको संगीतले यात्रालाई जीवन्त बनाइरहेको थियो ।
अपी यात्राको अर्को सुन्दर पक्ष भनेको स्थानीयको आत्मीयता हो । पदयात्रुहरूका लागि बाटोभरि बास बस्ने र खानपिनको राम्रो व्यवस्था गरिएको रहेछ । यात्राका क्रममा तातो पानी होस् वा चिसो पानी, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन । बास बस्ने ठाउँमा पुग्नेबित्तिकै कालो चियाले स्वागत गरिन्थ्यो । थकित यात्रुरुका लागि त्यो चिया केवल पेय पदार्थ थिएन, स्थानीय माया र आतिथ्यको प्रतीक थियो । जति माथि उक्लिँदै गयौँ, मौसम त्यति नै चिसिँदै गयो । बिहानको हावा अझ कडा लाग्थ्यो । हिमाल नजिकिँदै गएको अनुभूति हरेक पाइला सँगै बढिरहेको थियो । अनि त्यो क्षण आयो, जुन क्षण आज पनि सम्झँदा रोमाञ्चित बनाउँछ ।
पहिलो पटक आँखैअगाडि अपी हिमाल देख्दा म केहीबेर स्तब्ध भएँ । सेताम्मे हिमाल अली अली बादल र निलो आकाशमुनि गर्वका साथ उभिएको थियो । साथीहरू उत्साहित हुँदै तस्वीर खिच्न थाले, तर म भने हिमालतिर हेरेको हेर्यै भएँ । शब्दले बयान गर्न नसकिने त्यो अनुभूति मनभित्र गहिरोसँग बस्यो । सुदूरपश्चिमको शान अपी हिमाल साँच्चै कुनै चित्रकारले बनाएको विशाल चित्रजस्तै देखिन्थ्यो । त्यो क्षणमा मैले केवल हिमाल देखिरहेको थिइनँ, मैले प्रकृतिको विराटता महसुस गरिरहेको थिएँ । शहरको भिड, दैनिक तनाव र जीवनका अनेक व्यस्तताबाट धेरै टाढा, हिमालको काखमा उभिँदा मन एक प्रकारको शान्तिले भरिएको थियो । चिसो हावा अनुहारमा ठोक्किँदै थियो, तर मनभित्र अनौठो न्यानोपन थियो ।
अपी आधारशिविर पुगेर वरिपरिका दृश्य नियाल्दा लाग्थ्यो, प्रकृतिले सुदूरपश्चिमलाई खुलेर माया गरेको रहेछ । हिमाल, जंगल, खोलानाला र स्थानीय संस्कृतिको संयोजनले यो क्षेत्रलाई अनुपम बनाएको छ । तर यति सुन्दर गन्तव्य अझै पर्याप्त प्रचारको अभावमा धेरै यात्रुरुका लागि अपरिचितजस्तै छ । यो यात्राले मलाई एउटा महत्त्वपूर्ण अनुभूति पनि दियो– नेपालका दुर्गम भूभागहरू केवल कठिनाइका कथा होइनन्, त्यहाँ अथाह सम्भावना र सौन्दर्य लुकेको छ । स्थानीयको सरल जीवन, उनीहरूको आत्मीय व्यवहार र प्रकृतिसँगको सहअस्तित्वले धेरै कुरा सिकाउँछ ।
अपी हिमालको यात्रा मेरो लागि केवल पदयात्रा थिएन । यो प्रकृतिसँगको संवाद थियो, आत्मासँगको भेट थियो । यात्राले थकान दियो, तर त्योभन्दा धेरै ऊर्जा र सम्झना दियो । आज पनि आँखामा अपी हिमालको त्यो पहिलो दृश्य ताजै छ– सेताम्मे, शान्त र भव्य ।
शायद त्यसैले, जीवनमा धेरै यात्रा गरिएला, धेरै गन्तव्य पुगिएला, तर अपी हिमालको त्यो यात्रा भने सधैँ मनको सबैभन्दा सुन्दर कुनामा जीवित रहनेछ ।











