धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडा कटान क्षेत्रबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको माछा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ अन्दाजी २ लाख ८८ हजार रुपैयाँ बराबरको माछा तथा १८ लाख रुपैयाँ मूल्य बराबरको गाडीसहित स्थानीय ४० वर्षीय राजेश राना लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद माछा अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएको थियो। माछा र गाडीसहित जम्मा २० लाख ८८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


