यस वर्ष मनसुनमा २ लाख जनसंख्या प्रभावित हुने आकलन, सुदुरपश्चिममा ३३ हजार २२७ जना प्रधावित हुने
धनगढी । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत समेत गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको छ ।
प्राधिकरणका अनुसार यस वर्ष मनसुन सुरुको अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भएता पनि सरदर तापक्रम वृद्धि हुनसक्ने आकलन छ । यो अवस्थाले केही उच्च हिमाली स्थानहरूमा हिमताल विष्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुजन्य विपद्को जोखिम अधिक हुने सम्भावना छ ।
यो वर्षको मनसुनमा कम वर्षा र बढी गर्मी हुन्छ किन भनियो ?
त्यसैगरी उक्त अवधिमा दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आकलनले देशको दक्षिणी तराई भू–भागमा सर्वसाधारण अत्याधिक गर्मी वा तातो हावाको लहर लु बाट समेत प्रभावित हुने अनुमान छ ।
यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । ‘समग्रमा यस वर्षको मनसुन अवधिमा मनसुजन्य विपद्बाट देशभर करीब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करीब १० प्रतिशत बराबर हो,’ प्राधिकरणले भनेको छ ।
प्राधिकरणले प्रदेश तथा स्थानीय तहमा विपद् पूर्वतायारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण पनि गरेको छ ।
लुम्बिनी प्रदेश बढी प्रभावित हुने अनुमान
विपद् प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ मा उल्लेख भएअनुसार यस वर्षको मनसुन अवधिमा सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश हुने देखिन्छ ।
लुम्बिनीमा ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जना यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने आकलन छ ।
कोशी प्रदेशमा ८ हजार ८६४ घर परिवारका ३८ हजार ७३६ जना, मधेशमा ८ हजार ९२ घरधुरीका ३५ हजार ३६१ जना र बागमतीमा ७ हजार ५२८ घरधुरीका ३२ हजार ८९७ जना प्रभावित हुने अनुमान छ ।
यसैगरी गण्डकीमा ४ हजार ९५२ घर परिवारका २१ हजार ६४१ जना, कर्णालीमा ३ हजार १५ घर परिवारका १३ हजार १७५ जना र सुदूरपश्चिममा ७ हजार ६०३ घर परिवारका ३३ हजार २२७ जना मनसुन अवधिमा प्रधावित हुने विपद् प्राधिकरणको आकलन छ ।
विगत १० वर्षको अवधिमा मनसुनजन्य विपदबाट ३ हजार ७४ जनाको ज्यान गएको र ५०२ जना बेपत्ता भएको तथ्यांक छ । पहिरोबाट सबैभन्दा धेरै १ हजार ४८३ जनाको मृत्यु भएको छ । चट्याङबाट ८०५, बाढीबाट ६७८ र भारी वर्षाबाट १०८ जनाको ज्यान गएको छ ।
यस वर्ष पनि यस्तै प्राकृतिक विपदबाट जनधनको क्षति हुनसक्ने भएकाले विपद् प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न मन्त्रालयहरुलाई जिम्मेवारी बाँडफाँट गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।
समग्र नेतृत्व र समन्वय प्राधिकरणले गर्ने छ भने बन्दोबस्तीसहित खोज, उद्धार तथा राहत लगायतका कामको जिम्मा गृह र रक्षा मन्त्रालयले लिएका छन् ।
संघीय मामिला मन्त्रालयले शीघ्र पुनर्लाभको जिम्मेवारी दिइएको छ । यस अन्तर्गत विपद् प्रतिकार्यको अवधिमा स्थानीय तहहरुलाई मन्त्रालयले आवश्यक सहजीकरण र समन्वय गर्ने छ ।


