धनगढी: कैलालीमा औलो र कालाजारको जोखिम नियन्त्रण गर्न विषादी छिट्काउ अभियानलाई तीव्रता दिइएको छ। स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहहरूसँगको सहकार्यमा जिल्लाभर अभियान सञ्चालन गर्दै आएको हो। विशेषगरी तराईका बस्तीहरूमा संक्रमण देखिएकाले केस भेटिएका बस्ती तथा आसपासका क्षेत्रमा लक्षित रूपमा विषादी छिट्काउने काम सम्पन्न गरिएको छ।
अभियान अन्तर्गत हालसम्म जिल्लाभर ४ हजार ६ सय ९० घरमा विषादी छिट्काइएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस अभियानबाट ९ हजार १ सय ६ जना स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा १३३ जनामा औलो पुष्टि भएको छ। अघिल्लो आर्थिक वर्षमा २ सय ३१ जना तथा आर्थिक वर्ष २०८०/८१ मा १ सय ३५ जनामा संक्रमण देखिएको थियो। यसले जिल्लामा औलोको जोखिम निरन्तर रहँदै आएको देखाउँछ।
कालाजारतर्फ सन् २०२४ मा ११ जना, २०२५ मा ७ जना र २०२६ मा हालसम्म १ जना बिरामी फेला परेका छन्। बिरामीको संख्या घट्दो क्रममा देखिए पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको अवस्था छ। हरेक वर्ष औलो र कालाजारका बिरामी देखिँदै आएकाले नियन्त्रणका लागि अभियानलाई प्राथमिकतामा राखिएको हो। स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार दुई पहाडी स्थानीय तह बाहेक अन्य ११ स्थानीय तहका प्रभावित क्षेत्रमा विषादी छिट्काउने काम सम्पन्न गरिएको छ। “अभियान अन्तर्गत बिरामी भेटिएका घर तथा वरपरका क्षेत्रहरूमा प्राथमिकताका साथ विषादी छिट्काउने गरिएको छ,” उनले भने, “यसले संक्रमण फैलिन नदिन महत्वपूर्ण भूमिका खेलेको छ।”
स्वास्थ्य कार्यालयका अनुसार साउन, भदौ, चैत, बैसाख र जेठ महिनामा विशेष रूपमा यो अभियान सञ्चालन हुने गरेको छ। यिनै समयहरूमा लामखुट्टे तथा बालुवे किराको सक्रियता बढ्ने भएकाले संक्रमणको जोखिम उच्च रहने गर्दछ। विषादी छिट्काउ अभियानसँगै सरसफाइ, झारपात नियन्त्रण, पानी जम्न नदिने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने, लामखुट्टेबाट बच्ने उपाय अपनाउने जस्ता विषयमा जनचेतना फैलाउने काम पनि सँगसँगै अघि बढाइएको छ। समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउन महिला समूह, विद्यालय र स्थानीय अगुवामार्फत जानकारी प्रवाह गर्ने कार्यलाई समेत जोड दिइएको छ।
सरकारले सन् २०२८ सम्म कालाजार र २०३० सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य हासिल गर्न कैलालीमा सञ्चालन भइरहेको विषादी छिट्काउ अभियानलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कैलालीमा सञ्चालन गरिएको विषादी छिट्काउ अभियानले औलो र कालाजार नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने संकेत देखिएको छ। तथापि संक्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको अवस्थामा निरन्तर निगरानी, प्रभावकारी सरसफाइ, समुदायको सक्रिय सहभागिता तथा जनचेतना अभिवृद्धि कार्यक्रमलाई अझ सुदृढ बनाउँदै लैजानु आवश्यक देखिन्छ।


