धनगढी: १९ मंसिरमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि आक्रोश पोखे । ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन’, मन्त्री पुनले फेसबुकमा लेखेका थिए, ‘मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई १० वर्ष काम गरेको कोही नेपाल आमाको देशभक्त सन्तान हुनुहुन्छ भने निवेदन दिनुहोस् । अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’
उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधिअनुसार उपकुलपतिका लागि आवश्यक योग्यता भएको व्यक्ति नेपालमा न्यून भएको हुँदा दुईपटकको सूचनमा एक जनाको पनि आवेदन नपरेको चर्चा थियो । पूर्वमन्त्री पुनकै जोडबलमा तेस्रोपटक आवेदन माग्दा उपकुलपतिमा प्रा।डा। सुनिलकुमार जोशीको आवेदन पर्यो । २२ पुसमा उनी उपकुलपतिमा नियुक्त पनि भए । तत्कालीन मन्त्री पुनको अध्यक्षतामा बसेको सभाको दोस्रो बैठकले उपकुलपतिमा जोशीलाई नियुक्त गरेको थियो ।
तर, ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेसँगै उपकुलपति जोशी पनि पदमुक्त हुने भएका छन् । ‘सुदूरपश्चिमको सेवा गरौँ भनेरै उपकुलपतिमा आवेदन दिएर नियुक्त भएको थिएँ,’ अध्यादेश जारीपछि डा। जोशीले भने, ‘यो कुनै राजनीतिक नियुक्ति पनि थिएन ।’
सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि अन्योलता सिर्जना भएको उपकुलपति जोशीले बताए । ‘हामीले विश्वविद्यालयमा सञ्चालित अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति र मेडिकल शिक्षा अध्यापनका लागि थुप्रै प्रक्रिया अगाडि बढाइसकेका थियौँ,’ उनले भने, ‘तर, अध्यादेश जारी भएपछि स्वतः पदमुक्तको कुरा सुनिरहेको छु । अब के गर्ने भन्ने अन्योलता छ ।’ जोशीका अनुसार विश्वविद्यालयमा एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी, बी अप्टोमेटरीमा अध्यापन सुरु गर्ने तयारी छ । एमबीबीएसमा ५० सिट, नर्सिङमा ३० सिट, बीएस्सी एमएलटीमा २० सिट, बी अप्टोमेटरीमा २० सिटमा अध्यापन गर्ने तयारी गरिएको छ ।
अध्यादेशले उपकुलपति जोशीसँगै रजिस्ट्रार डा। खेमराज जोशी पनि पदमुक्त हुने भएका छन् । यस्तै, अध्यादेशअनुसार विश्वविद्यालय सभामा नियुक्त भएका सदस्य पनि पदमुक्त हुनेछन् । सभा सदस्य रहेका सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा. हेमराज पन्त, प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल र प्रा.डा. संगीताराज भण्डारी पनि पदमुक्त हुने भएका छन् ।


