धनगढी — शरीर अत्यधिक सुन्निएर गम्भीर अवस्थामा पुगेका धनगढी उपमहानगरपालिका–१० निवासी रमेश रानाको कैलाली अस्पतालमा सफल उपचार भएको छ। हाइड्रोसिलको समस्या पछि जटिल बन्दै गएको अवस्थामा रानाको शरीर पूरै सुन्निएको थियो। अवस्था नाजुक बन्दै गएपछि उनी विभिन्न अस्पताल हुँदै अन्ततः धनगढीस्थित कैलाली अस्पताल पुगेका थिए। त्यहाँ पुगेपछि चिकित्सक टोलीले उनको गम्भीर अवस्थालाई मध्यनजर गर्दै आइसियुमा राखेर उपचार सुरु गरेको थियो।
कैलाली अस्पतालका डा. बिवेक जोशी र अकास राउतको नेतृत्वमा गरिएको उपचारपछि रानाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको हो। उनी १५ दिनसम्म आइसियुमा र थप ५ दिन सामान्य वार्डमा उपचारपछि पूर्ण रूपमा निको भई घर फर्किएका छन्। उपचारपछि रमेश रानाले आफू निकै कमजोर र गम्भीर अवस्थामा पुगेको भए पनि चिकित्सकहरूको अथक प्रयासले पुनर्जीवन पाएको बताए। उनले भने, “अवस्था अत्यन्तै नाजुक थियो, तर डाक्टरहरूको मेहनतले म आज फेरि सामान्य जीवनमा फर्किन सफल भएँ।”
उनकी श्रीमती गोमती रानाले पनि अस्पतालप्रति कृतज्ञता व्यक्त गर्दै आर्थिक रूपमा कमजोर अवस्थाका कारण उपचार कठिन हुने चिन्ता भए पनि अस्पतालले सहुलियत दिएपछि ठूलो राहत मिलेको बताइन्। “हामीलाई आर्थिक रूपमा धेरै समस्या थियो, तर अस्पतालले उपचारसँगै खर्चमा पनि छुट दिएपछि ठूलो सहयोग पुग्यो,” उनले भनिन्।
समयमै उचित उपचार र दक्ष चिकित्सकको प्रयासले गम्भीर अवस्थाका बिरामीलाई पनि नयाँ जीवन दिन सकिन्छ भन्ने उदाहरणका रूपमा रमेश रानाको घटना देखिएको छ।


