काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले कानुन लत्त्याएर अध्यादेशबाट शासन गर्न खोज्नु विद्यामान संसदीय प्रणालीको विपरित भएको बताएका छन् । सरकार आफैले आह्वान गरेको संसद्को बैठक स्थगित गरी राष्ट्रपतिसमक्ष ६ वटा अध्यादेश सिफारिस गरेकोप्रति असन्तुष्टि जनाउँदै रावलले सरकारको विरोध गरेका हुन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छिटोको नाममा प्रचलित कानुन, विधि, प्रणाली र प्रक्रिया मिच्नु दीर्घकालीन रूपमा प्रत्युत्पादक बन्ने बताएका छन् ।
‘धमाधम अध्यादेशबाट कानुन ल्याएर शासन गर्न खोज्नु संविधान निर्माण गर्दाका बखत स्थापित मूलभूत मान्यताहरू र विद्यमान संसदीय प्रणालीको विपरीत हुन्छ । छिटोको नाममा विधि, प्रणाली, प्रक्रिया, मान्यता मिच्नु दीर्घकालीन रूपमा प्रति उत्पादक बन्छ’, रावलले लेखेका छन् । रावलले संविधानसभाबाट संविधान बनाउने बेलाका सबै उच्चस्तरीय छलफल, बैठक र बहस स्मरण गरेका छन् ।


