धनगढी । कैलाली कञ्चनपुरबाट लागुऔषध सहित ९ जना पक्राउ परेका छन । प्रहरीले कैलालीका विभिन्न स्थानबाट ६ जना र कञ्चनपुरका विभिन्न स्थानबाट ३ जना गरी ९ जनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–८ राधास्वामी मन्दिर नजिकबाट ४ ग्राम २०० मिलिग्राम खैरो हिरोइनजस्तो पदार्थसहित ३० वर्षीय संजय राना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो ।
यसैगरी, भजनी नगरपालिका–५ गुलरियाघाटबाट ५०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ का २० वर्षीय करन बिक र २६ वर्षीय चन्दरे टमट्टा रहेका छन् । उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०१–०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार थिए । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला परेको हो ।
त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट ५ ग्राम ७० मिलिग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका–१ का ४४ वर्षीय सुरेन्द्र चौधरी, ३० वर्षीय भुवन कठरिया र २१ वर्षीय प्रसन चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई दुई वटा साइकलसहित नियन्त्रणमा लिएको हो ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम खैरो हिरोइनसहित २९ वर्षीय रबिन बिष्ट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट आएको युके–०३ टीए ७७२७ नम्बरको भारतीय कार जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो ।
त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय मनिष थापा र बेलडाँडी–५ झिलमिलाका २५ वर्षीय मनोज खड्का रहेका छन् ।
प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।


