धनगढी: सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीहरूको मागका आधार सरकारले पुनः भाडा वृद्धि गरेको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडादर समान ५ प्रतिशतले वृद्धि गरेको जनाएको हो ।
यसअघि २५ चैतमा सरकारले भाडा समायोजन गरेको थियो । अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाबमोजिम पछिल्लोपटक डिजेलको मूल्य प्रतिलिटर ५५ रुपैयाँसम्मले वृद्धि भएपछि करिब २० दिनको अन्तरालमै पुनः भाडा समायोजन गर्नुपरेको विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारीसाधन, पहाडी बाटोहुँदै अन्तरप्रदेश चल्ने मालवाहक सवारीसाधन र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनको साविकको भाडादरमा समान ५ प्रतिशतले वृद्धि गरिएको छ ।


