धनगढी । फोहोरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको धनगढी उपमहानगरपालिकाले अब फोहोरमैला व्यवस्थापनको ज्ञान पाठ्यपुस्तकमार्फत दिने भएको छ । धनगढी उपमहानगरपालिकाले काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा फोहोर व्यवस्थापन सम्बन्धी पुस्तक तयार पारेको हो ।
उक्त पुस्तकलाई व्यावसायिक तालिम परिषद् सिटीइभिटीको स्वीकृतिमा अध्ययन–अध्यापन गरिने भएको छ । फोहोर व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाएर तयार गरिएको पुस्तकमार्फत तालिम सञ्चालन सुरु गरिएको छ । आइतबार धनगढी उपमहानगरपालिका सभाहलमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तालिमको औपचारिक उद्घाटन गरेका छन् ।
धनगढी उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समेट्ने अभ्यास थालेको जनाएको छ । हालसम्म नेपालमा यस विषयमा व्यवस्थित रूपमा किताबमार्फत अध्ययन–अध्यापनको अभ्यास न्यून रहेको अवस्थामा यो पहललाई नवीन मानिएको छ ।
उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरका उपप्रमुख कन्दकला कुमारी रानाले यस कार्यक्रमले फोहोर व्यवस्थापनप्रति जनचासो बढाउने र सहरी सरसफाइमा सुधार ल्याउने विश्वास व्यक्त गरिन् ।
यस्तै, टीकापुर पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख इन्जिनियर पारश खड्काका अनुसार पाँच वटा स्पष्ट उद्देश्यसहित तयार गरिएको पुस्तकले फोहोर व्यवस्थापन क्षेत्रमा काम गर्ने जनशक्तिलाई सीपयुक्त बनाउनेछ ।
उपमहानगरपालिकाले हाल सहरी क्षेत्रमा फोहोरको सूक्ष्म वर्गीकरण, बिक्री तथा व्यवस्थापन गर्दै आएको छ । साथै, क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । यो कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापन, सीप विकास, उपकरण प्रयोग, विद्युतीय फोहोर संकलन तथा पुनःप्रयोग, र रोजगारी सिर्जनाजस्ता विषयमा ज्ञान प्रदान गरिनेछ ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले धनगढीको अभ्यासबाट अन्य शहरहरूले पनि सिक्नुपर्ने बताए । उनले फोहोर पुनःप्रयोगमा जोड दिँदै बञ्चरे डाँडामा पठाइने फोहोरको मात्रा घटाउनुपर्ने धारणा राखे ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ‘हाम्रो धनगढी, सफा धनगढी’ र ‘हरित धनगढी’ जस्ता कार्यक्रमलाई यसले थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


