धनगढी । भारतको खिरी जिल्लामा लागूऔषध ब्राउन सुगरसहित तीन जना नेपाली नागरिक पक्राउ परेका छन्। सोमबार साँझ खिरी जिल्लाको सम्पूर्णानगरस्थित बसही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
एसएसबीका अनुसार पक्राउ पर्नेहरू कैलालीको गोदावरीका प्रदीप चौकाल, विनोद पुन मगर र विमल चन्द रहेका छन्। उनीहरू सवार पल्सर मोटरसाइकलबाट ८ दशमलव ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जनाइएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्पूर्णानगर प्रहरीको जिम्मा लगाइएको छ। पछिल्लो समय कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएका छन्। सीमा क्षेत्रमा सुरक्षाकर्मीले दैनिकजसो तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गरे पनि लागूऔषध नियन्त्रणमा चुनौती कायम नै रहेको छ।

