धनगढी : कैलालीमा श्रीमतीको हत्या भएको घटनामा अनुसन्धान तथा घटनास्थल सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्ने एक प्रहरी अधिकृतलाई ‘पुलिस अफ द मन्थ’ प्रशंसा प्रदान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुरेश बहादुर बोहरालाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसा पत्र प्रदान गरिएको हो।
प्रहरीका अनुसार फागुन २४ गते राति धनगढी उपमहानगरपालिका–७ देवरीयाका वर्षीय डम्मरराज जोशीले आफ्नी ३० वर्षीया श्रीमती सरस्वती अवस्थी जोशीमाथि धारिलो हतियार प्रहार गरेका थिए। टाउकोमा गहिरो चोट लागेका कारण सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे राति छिमेकी गणेश साउदले टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक बोहराको कमाण्डमा (सोको) सहित ११ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
उक्त टोलीले घटनास्थल सुरक्षित राख्ने, प्रारम्भिक अनुसन्धान गर्ने तथा प्रमाण संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ।
घटनामा देखाएको सक्रियता र उत्कृष्ट कार्यको कदर गर्दै प्रहरी नायव निरीक्षक बोहरालाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ का रूपमा कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्रबहादुर चन्दद्वारा प्रशंसा पत्र प्रदान गरिएको हो। प्रहरीले आगामी दिनमा पनि अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा उनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।


