धनगढी । सुदूरपश्चिम प्रदेशका सिमा नाकामा निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नागरिक मतदान सकिएलगत्तै पुनः रोजगारी, उपचार वा अन्य कामका लागि भारततर्फ फर्किने थालेका छन् । प्रदेशको प्रमुख नेपाल–भारत सिमानाका त्रिनगरमा दैनिकजसो सयौँ नेपाली आवतजावत गर्छन् । निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नागरिक मतदान सकिएलगत्तै पुन भारत जान थालेपछि सिमानाकामा चहलफल बढेको छ ।
फागुन २१ को निर्वाचनमा सहभागि हुन स्वदेश फर्किएका नेपालीहरु निर्वाचन सकिएलगत्तै रोजगारीका लागि पुनः भारत फर्किन नेपाली युवाको सिमा नाकामा अत्याधिक भीड छ । कञ्चनपुरका पदम पन्तले भोट हाल्न नेपाल आएपनि अब पुन भारत फर्किन थालेको बताए । दुई महिनाअघि नेपाल फर्केका उनी अहिले भने पुनः भारत फर्किने तयारीमा छन् । फागुन २१ गते भएको निर्वाचनमा मतदान गर्नका लागि मात्र नेपाल आएका उनी साथीहरुसँगै भारत रोजगारीमा जान लागेका हुन् ।
त्रिनगर नाकामै भेटिइन् अछामकी कल्सु साउँद । उनी उपचारका लागि भारत जान लागेकी हुन् । निर्वाचनपछि देशमै उपचारको राम्रो व्यवस्था भएको छ कि भनेर हेर्ने चाहना भए पनि अहिले भने नियमित स्वास्थ्य परीक्षणका लागि भारत जानु परेको उनको गुनासो छ । कल्सु साउँदले भनिन –‘पहिला पनि भारतमै उपचार गराएर फर्किएकी हुँ । अहिले मतदान गरिसकेपछि नियमित जाँचका लागि पुन भारत जादै छु ।

त्रिनगर नाकामा भेटिएका धनगढीका चन्द्र सिंह भने केही अन्यौलमा देखिए । आमाको उपचार गराएर धनगढी फर्किएका उनीसँग नेपाली नागरिकता भने थिएन । उनको साथमा भारतीय आधार कार्ड मात्र थियो । भोटर कार्ड समेत नभएकाले भारत प्रवेशमा समस्या परेको हो । भारतीय सीमा सुरक्षा बलले नागरिकता नभएकालाई जान नदिने बताएपछि उनी नाकामै अलमलमा थिए ।
नेपाल–भारत खुला सिमानाका कारण दैनिक हजारौँ नागरिक आवतजावत गर्छन् । निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नेपाली अहिले फेरि रोजगारी, उपचार र अन्य कामका लागि भारत फर्किरहेका छन् । तर आवश्यक कागजात नहुँदा कतिपय नागरिक भने सिमानामै समस्या भोग्न बाध्य भएका छन् ।


