धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा आनन्द बहादुर चन्दले आफ्नो चुनावी खर्च करिब १८ लाख रुपैयाँसम्म भएको हुनसक्ने बताएका छन्।
धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले चुनाव प्रचार–प्रसारका क्रममा आफूले करिब १८ लाख रुपैयाँ जति खर्च भएको अनुमान रहेको बताए। तर उक्त रकम के–के शीर्षकमा खर्च गरिएको भन्नेबारे उनले विस्तृत विवरण सार्वजनिक गरेनन्।
यता उनको चुनावी खर्च करोड रुपैयाँसम्म पुगेको चर्चा समेत भइरहे पनि चन्दले त्यसबारे स्पष्ट टिप्पणी गरेका छैनन्।
कांग्रेसले आफ्नो गढ बताउँदै आएको कैलाली– ५ मा यसपटक रास्वपा उम्मेदवार चन्द निर्वाचित भए। उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा सक्रिय थिए। जिल्लास्तरमा परिचित नभएका उनलाई एकाएक रास्वपाले उम्मेदवार बनाएको थियो।
चन्द ३१ हजार ९५३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत ल्याए। यसैगरी, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का प्रेमबहादुर आलेले ७ हजार ८७६ र नेकपा ९एमाले० का उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरेका थिए।

