धनगढी: नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अध्यापन सुरु गर्ने तयारी थालिएको छ । कैलालीको गेटामास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापनको तयारीअनुसार प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि आवेदन माग गरिएको छ । २६ जना प्राध्यापक र सहप्राध्यापक तथा ५१ जना उपप्राध्यापकका लागि आवेदन खोलिएको हो । विश्वविद्यालयले करार सेवामा पदपूर्ति गर्नका लागि विज्ञापन खोलेको जनाएको छ । १४ फागुनसम्म आवेदन भर्न सकिने छ ।
विश्वविद्यालयले पुस तेस्रो साता मात्रै उपकुलपति र रजिस्ट्रार पाएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाको दोस्रो बैठकले उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशीलाई नियुक्त गरेको थियो । रजिस्ट्रार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनको थालनी गर्ने तयारी छ । ‘हामीले एमबीबीएस, बिएस्सी एमएलटी, बिएस्सी नर्सिङ लगायतमा अध्यापन सुरु गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अध्ययन सुरु गर्न चिकित्सा शिक्षा आयोगले अनुमति दिनुपर्ने हुन्छ ।’
२०६६ सालमा सरकारले गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । २०६९ सालमा मेडिकल कलेज निर्माणका लागि ८४ बिघा जग्गा छुट्याएर नक्सांकनको काम भएको थियो । २०७२ सालमा रुख कटानीको प्रक्रिया अगाडि बढेकोमा त्यसपछि मेडिकल कलेज निर्माणका लागि ५५३ वटा रुख काटिएका थिए । सोही वर्षदेखि गेटामा ६०० शय्याको अस्पतालसहित मेडिकल कलेज सञ्चालनका लागि भवन निर्माणको कार्य सुरु भएको थियो । झण्डै सात अर्बको लागतमा पूर्वाधार निर्माणको काम सकिएको २ वर्ष भइसकेको छ ।
लामो समयसम्म सञ्चालनको प्रारुपबारे विवाद हुँदा अन्योल बढेको थियो । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रतिनिधिसभाबाट पारित भएर ४ असारमा नेपाल सरकारको राजपत्रमा प्रकाशन भएको थियो । गेटामा १ कात्तिक २०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल सञ्चालनमा छ ।


