धनगढी । यातायात क्षेत्र र मजदुरका हक–हितका पक्षमा स्पष्ट धारणा राख्ने राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्नुपर्ने माग गर्दै नेपाल यातायात मजदुर संघले सुदूरपश्चिममा चुनावी सक्रियता बढाएको छ । संघले बुधबार धनगढीमा आयोजना गरेको प्रादेशिक भेलाबाट यातायात व्यवसायी र मजदुरमैत्री नीतिलाई प्राथमिकता दिने दललाई विजयी गराउन आह्वान गरिएको हो ।
भेला नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति कैलालीको सहकार्यमा भएको थियो । कार्यक्रममा संघका केन्द्रीय तथा प्रादेशिक पदाधिकारी, विभिन्न यातायात व्यवसायी संघका प्रतिनिधि र मजदुरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघका महासचिव तथा नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार अजयकुमार राईले यातायात क्षेत्रको वास्तविक समस्यालाई बुझ्ने र समाधानका लागि आवाज उठाउन सक्ने उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह गरे ।
राईले भने, ‘यातायात व्यवसायी र मजदुरको पक्षमा आवाज उठाउन सक्नेलाई विजयी गराऔं । उनीहरूको पक्षमा मतदान गराउन प्रचारमा जाऔं । अब संगठन बलियो हुनुपर्छ ।’ उनले मजदुर एकता र संगठित शक्तिको महत्त्व औंल्याउँदै निर्वाचनलाई मजदुर अधिकार सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस का केन्द्रीय कार्यवाहक अध्यक्ष पुर्णे प्रसाद सिटौलाले हालको अवस्थामा यातायात क्षेत्र प्रताडित भएको टिप्पणी गरे । सिटौलाले यातायात क्षेत्रमा ठूलो लगानी भए पनि राज्यबाट अपेक्षित संरक्षण र नीतिगत सहजीकरण नपाएको गुनासो गरे । उनले कैलाली क्षेत्र नम्बर २ का उम्मेदवार विजयबहादुर स्वाँर र कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह ९मनु० लाई विजयी गराउन आग्रह गरे ।
‘यातायात क्षेत्रको विषयमा बोल्न सक्नेलाई विजयी गराउनुपर्छ । जब हाम्रो मानिस हुन्छ तब कुरा सुनिन्छ,’ उनले भने । सार्वजनिक यातायात सुधारलाई नेपाली काँग्रेसले आफ्नो घोषणापत्रमा समेटेको उल्लेख गर्दै सिटौलाले मजदुर तथा व्यवसायी दुवैको हितका लागि अनुकूल नीति ल्याउन सकिने दाबी गरे ।
संघका राष्ट्रिय अध्यक्ष धर्मराज भण्डारीले मजदुरहरूलाई राजनीतिक सचेतनामा जोड दिन आग्रह गरे । उनका अनुसार नेपाली काँग्रेसभित्र मजदुर प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ र श्रमजीवी वर्गलाई राज्य संरचनामा पुग्ने अवसर प्रदान गरिएको छ ।
‘यातायात क्षेत्रलाई व्यवस्थित गर्न मजदुरमैत्री नीति आवश्यक छ । त्यसका लागि काँग्रेस उम्मेदवारलाई विजयी गराउन जरुरी छ,’ उनले भने । उनले संगठनलाई अझ सशक्त बनाउँदै नीतिगत तहमा प्रभाव बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी सुदूरपश्चिम यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष टेकराज जोशीले सबै व्यवसायी एकजुट भएर काँग्रेस उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए । उनले यातायात क्षेत्रको सुधारका लागि राजनीतिक स्थिरता र नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गरे ।
नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम अध्यक्ष ज्ञानेन्द्र शाहले प्रजातन्त्रवादी नेतृत्वलाई जिताउन सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले रोजगारीको अभावका कारण धेरै नेपाली युवाहरू भारत जान बाध्य भएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जनाका लागि श्रममैत्री नीति आवश्यक रहेको बताए ।
खप्तड यातायात व्यवसायी संघका अध्यक्ष अन्नतराज जोशीले राज्यले यातायात व्यवसायीका माग सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले कोभिड–१९ महामारीका कारण यातायात व्यवसाय धरासायी भएको स्मरण गराउँदै राहत, सहुलियत ऋण र कर छुटजस्ता व्यवस्थामा अझै पनि पर्याप्त पहल नभएको बताए ।
‘कोभिडका कारण थुप्रै व्यवसायी ऋणको बोझमा छन् । गाडी सञ्चालन खर्च बढेको छ, तर आम्दानी स्थिर छैन,’ उनले भने । राज्यले दीर्घकालीन नीतिगत सुधार र व्यवसायीमैत्री कार्यक्रम ल्याउनुपर्ने उनको माग थियो ।
कार्यक्रम केशवराज पन्त को अध्यक्षतामा भएको थियो । उनले मजदुर संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरमा सञ्जाल विस्तार गर्नुपर्ने बताए । संघका कैलाली जिल्ला अध्यक्ष जंगबहादुर श्रीमालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गोविन्द शाहले गरेका थिए ।
भेलामा सहभागी वक्ताहरूले यातायात मजदुरको सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, बीमा व्यवस्था, दुर्घटना राहत तथा पेशागत सुरक्षा सुनिश्चित गर्न स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे ।
आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलाले सुदूरपश्चिममा यातायात मजदुर तथा व्यवसायीबीच राजनीतिक सक्रियता बढाएको देखिन्छ । सहभागीहरूले मजदुरका मुद्दा सम्बोधन नगर्ने दलप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो अधिकार सुनिश्चित गर्न राजनीतिक हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
भेलामा सुदूरपश्चिमका विभिन्न जिल्लामा थप अन्तरक्रिया, प्रशिक्षण र चुनावी सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मजदुर एकता, संगठन सुदृढीकरण र राजनीतिक सहभागितामार्फत यातायात क्षेत्रका माग सम्बोधन गराउने रणनीति अघि सारिएको छ ।


