भोजपुर: निर्वाचन सुरक्षाका लागि बेस क्याम्प स्थापना गर्न टेम्केमैयुङतर्फ जाँदै गरेको श्रीनाथ गणका सैनिक सवार बस दुर्घटनामा परेको छ। ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–४ दावाँस्थित सेती बगर क्षेत्रमा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाका अनुसार बसमा २६ जना सवार थिए, जसमध्ये एक जमदार र एक सैनिक कर्मचारी सकुशल रहेका छन्। घाइतेमध्ये करिब ९ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउन दुई वटा हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको छ।


