धनगढी । कैलालीको निर्वाचन क्षेत्र नं ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका ठुला दलका उम्मेदवारका चुनावी एजेन्डा मिल्दाजुल्दा देखिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले उस्ताउस्तै एजेन्डा सार्वजनिक गरेका हुन् । उनीहरूले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन सञ्चालन र छ सय शय्याको अस्पताल स्थापना गर्ने, धनगढी उपमहानगरपालिकालाई महानगर बनाउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान अगाडि बढाउनेलगायतका एजेन्डा अगाडि सारेर मत मागिरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनु, नेकपा एमाले का उम्मेदवार यज्ञराज ढुङ्गाना र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेको एजेन्डामा खासै भिन्नता देखिएको छैन । पूर्वमन्त्रीसमेत रहेका आलेले भने धनगढी विमानस्थल स्तरोन्नतिको विषयलाई पनि आफ्नो चुनावी एजेन्डा बनाउनुभएको छ ।
नेपाली कांग्रेसमा उम्मेदवार शाहले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र ग्रामीण विकास, खानेपानी, नदी नियन्त्रण, सुशासन, भ्रष्टाचार नियन्त्रण, लैङ्गिक समानता, सामाजिक न्यायलगायतका विषयलाई समेट्नुभएको छ । आदिवासी जनजाति, दलित, रानाथारूलगायतका समुदायको भाषा, कला साहित्य र पर्यटन तथा धार्मिक विकासमा नेपाली कांग्रेसले गरेको कार्यको स्वामित्व लिँदै आगामी दिनमा यो क्षेत्रको समृद्धि र समुन्नतिका लागि आवश्यक नीति तथा कानुन निर्माणमा प्रतिबद्ध रहने शाहको प्रतिबद्धता छ ।
शाहले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानी–गड्डाचौकी छ लेन सडक स्तरोन्नति, त्रिनगर भन्सार स्तरोन्नति, सेती लोकमार्ग र फास्ट ट्र्याक कार्यान्वयनका लागि जोडदार आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । यसै गरी भूमिहीन, दलित, सुकुमवासी, मुक्त कमैया, मुक्त हलिया र अव्यवस्थित बसोबासीको समस्या समाधान गरी लालपुर्जा वितरण गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेकपा ९एमाले० का उम्मेदवार ढुङ्गानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार, सामाजिक न्याय र सूचना प्रविधिलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बिमा, भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरणको विषय उहाँको चुनावी प्रतिबद्धतामा समेटिएको छ । सामाजिक न्याय अन्तर्गत ढुङ्गानाले दलित, महिला, जनजाति, थारू र सीमान्तकृत समुदायको संरक्षण, भाषा, साहित्य जगेर्ना, योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ढुङ्गानाले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आइटी सेवा विस्तार, सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा डिजिटल पूर्वाधार स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


