बझाङ — ‘अब जातभात, धनी–गरिब भन्ने केही हुने छैन । हामीले जितेर आए पछि सबैलाई बराबर बनाउने छौं । तपाईहरुका दुख अब धेरै दिन रहने छैनन्’ २०४८ वैसाख महिनाको कुनै दिन भोट माग्न आएका एक जना नेताले भनेको यो वाक्य मष्टा गाउँपालिका–३ गैरी गाउँका गडेलो सार्कीको सम्झनाबाट अझै हराएको छैन । गएको माघमा ८४ वर्ष टेकेका सार्कीले ती नेताले भनेको कुरा सम्झना गराइराख्ने अर्को रोचक घटना सम्झदै भने, ‘नेताले मलाई काका भन्दै नमस्कार गरेका थिए । मल्जाती (उपल्ला जाती) ले त्यो भन्दा पहिला मलाई कसैले पनि नमस्कार गरेको थिएन ।’ कथित गैरदलितका बालबच्चालाई पनि देख्ने बितिकै ढोग्न अभ्यस्त भएका उनलाई नेताले सुरुमै नमस्कार गर्दा निकै अप्ठ्यारो पनि लागेको सुनाए ।
जग्गा नहुनेलाई जग्गा दिने, जातीय छुवाछुत हटाउने, घरघरमा रोजगारी दिने र उनी जस्ता साधारणका दुःख सधैंका लागि हटाइदिने ती नेताका आश्वासनले आफु मन्त्रमुग्ध भएको सुनाउँदै उनले भने, ‘हामीलाई सुख दिने, हाम्रा लागि काम गरिदिउला भन्ने ती मान्छेका कुरा सुन्दा देउतै आए जस्तो लागेको थियो । धेरै खुसी लागेको थियो ।’ ती नेताको आश्वासनमा विश्वास गरेर त्यो बेला गाउँका सबैले उनैलाई मत दिएको बताउने बृद्ध गडेलोको त्यो खुसी जीवनको उतरार्द्धमा आएर आक्रोश र निरासामा बदलिएको छ । त्यसयताका हरेक निर्वाचनमा नेताका यस्तै आश्वासन सुन्दै आएका उनलाई अहिले आएर नेताहरुले बोल्ने कुरामा पत्यार लाग्न छोडेको छ । ‘त्यो बेला मेरो जेठो छोरीको भर्खर बिहे भएको थियो । अहिले उसले पनि नाति पाइसकी । मैले पनाति पुस्ता देखिसके,’ यस बीचमा विभिन्न पार्टी परिर्वतन गरेर मतदान गरेको बताउने उनी भन्छन्, ‘जति नेता आए पनि हाम्रा अवस्था उस्तै छन् । प्रत्येक चुनाउमा नेताहरु त्यही कुरा भन्दै भोट माग्न आउँछन् । अहिले त नेता देख्यो कि रिस मात्रै उठ्छ ।’
गडेलोले व्यक्त गरेको विचारले सिंगो जिल्लाको प्रतिनिधित्व गरिरहेको छ । बझाङका हरेक गाउँका मतदाता पटक–पटक दोहोरिने नेताका उस्तै आश्वासन सुन्दा दिक्क भइसकेका छन् । ‘हाम्रो गाउँमा खानेपानी सुविधा पुर्याउँछौं भनेको सुन्दा सुन्दा मेरो उमेर ढल्किसक्यो । २०७९ को चुनावमा त झन् घरघरमा धारा ल्याउँछौ भन्दै भोट माग्न आएका थिए,’ जयपृथ्वी नगरपालिका–१ का ६० वर्षीय महलबहादुर सिंह चुनावका बेला नेताहरु झुटका पोका बोकेर गाउँ आउने गरेको तर निर्वाचनपछि आफुले गरेका वाचा भुसुक्कै बिर्सने गरेको सुनाउँदै भन्छन्, ‘नेताका झुटा कुरा सुनेर हामीलाई लाज लाग्न थालिसक्यो । उनीहरु उहीँ आश्वासन र उहीँ अनुहार देखाएर बर्षौंसम्म भोट माग्न लाज मान्दैनन् ।’ विगतका निर्वाचनहरुमा आफ्नो गाउँले नेताहरुलाई सुनाउने गरेका सिँचाइ, खानेपानी, रोजगारी जस्ता समस्या अहिले पनि ज्यूँकात्यूँ रहेको उनले सुनाए ।
निर्वाचनका बेला सबै उम्मेद्वारको सबैभन्दा बढी झुट सुन्नेमा जिल्लाकै विकट साइपाल गाउँपालिकाका बासिन्दा पनि छन् । गाउँमै स्वास्थ्य उपचारको व्यवस्था, फराकिला बाटाघाटा, खोला–नदीमा सजिलै वारपार गर्न मिल्ने पुल र गाउँमा सहजै नुन र चामल पाउने वातावरण बनाइदिनका लागि जिल्ला सदरमुकामदेखि प्रदेश र केन्द्रसम्म यहाँका स्थानीय प्रत्येक वर्ष डेलिगेसन लिएर पुग्ने गरेका छन् । तर पञ्चायतदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा पनि उनीहरुका समस्या फेरिएका छैनन्, न त प्रत्येक निर्वाचनमा नेताले दिने आश्वासनमा कुनै परिर्वतन भएको छ । निर्वाचनका बेला समेत सबै उम्मेदवारको मुख देख्न नपाउने साइपालमा मुस्किलले कोही उम्मेदवार पुगिहाले स्थानीय खुसी साथ टीकामालाले स्वागत गर्दै आफ्ना समस्या सुनाउँछन् । ‘यहाँ आएको बेला स्वास्थ्य, नुनचामल र बाटाघाटाका समस्या त चुट्की मै समाधान गर्छौं जस्तो कुरा गर्छन्,’ स्थानीय राजनीतिमा पनि सक्रिय ६७ वर्षीय कम्मान बोहरा भन्छन्, ‘साइपालमा विदेशी पर्यटकको ओइरो लगाउँछौं, सबै साइपालबासीलाई पर्यटन मार्फत धनी बनाउछौं भन्छन् । तर फर्केपछि सबै भुल्छन् । हाम्रा सास्ती उस्तै छन् ।’ उनले अहिलेसम्म पनि विरामीलाई तीनरचार दिन बोकेर सदरमुकामसम्म लैजानु पर्ने साइपालबासीको पीडालाई नेताहरुले भोट माग्ने बहाना बनाइरहेको बताए ।
विगतमा जितेर गएकाहरुले झुटा आश्वासन दिएर जनताको मतलाई सत्तासम्म टेक्ने भर्याङ मात्रै बनाएका कारण जिल्लाका आधारभूत समस्या परिर्वतन नभएको स्वयं राजनीतिक दलका नेताहरु पनि स्विकार्छन् । ‘०४८ सालदेखिका निर्वाचनमा म नेताहरुसँग गाउँ घुमेको छु । आधारभूत समस्यामा पहिले र अहिले खासै फरक छैनन्,’ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गजेन्द्र सार्की भन्छन्, ‘निर्वाचनका बेला आकाशका तारा झार्छौं जस्तो गफ दिने । मत लिनका लागि हुने नहुने झुट बोल्ने तर निर्वाचन सकिए पछि वास्ता नगर्ने प्रवृतिले यस्तो भएको हो ।’ उनले नेताहरुको झुट् सुन्दा सुन्दा वाक्क भएका जनताले राजनीतिप्रति सम्मानको साटो घृणा गर्न थालेको बताए । कान्तिपुरबाट


