धनगढी । धनगढी उपमहानगरपालिकामा आगामी माघ २७ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त अभियानअन्तर्गत उपमहानगरपालिकाभित्रका २ हजार ३ सय ४० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार खोप अभियानका लागि कुल १ सय १३ वटा खोप केन्द्र स्थापना गरिनेछ । जसअन्तर्गत ९४ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन ६४ जना स्वास्थ्यकर्मी र ९४ जना स्वयंसेवक परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
गत वर्ष धनगढी उपमहानगरपालिकामा लक्षित किशोरीमध्ये ९५ प्रतिशतले एचपिभी खोप लगाएको उल्लेख गर्दै यस वर्ष पनि सकेसम्म पूर्ण लक्ष्य हासिल गर्नुपर्नेमा उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले जोड दिनुभएको छ । विद्यालय नजाने किशोरीहरूलाई घरमै पुगेर खोप लगाउने व्यवस्था मिलाउन उहाँले सुझाव दिनुभएको छ । उपमहानगरपालिकाले खोप अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय र सरोकारवाला निकायसँग सहकार्य गर्दै अभियानलाई व्यापक बनाउने तयारी गरेको जनाएको छ ।


