दार्चुला — कठ्यांग्रिदो जाडो र भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकको तापक्रमबीच पनि उनीहरूको कदम रोकिँदैन । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पूरै हिउँले ढाकिएको छ । चारैतिर सेताम्य पहाड, चिसोले जमेको आँगन र बरफले ढाकिएका छानाबीच सुरक्षाकर्मीको दैनिकी चलिरहेको छ ।
यस क्षेत्रको तापक्रम माइनस ६ डिग्रीदेखि २३ डिग्री सेल्सियससम्म रहने गरेको छ । हाल गुल्म वरपर करिब डेढ फिट हिउँ जमेको छ । गाउँ पूरै सुनसान छ । बादल लाग्ने वित्तिकै हिउँपर्छ । वरिपरि अग्ला पहाड, टाढा टल्किँदै गरेका हिमालका चुचुरा र चिसो हावाले ठोकिरहेको हुन्छ । यो कुनै साहसिक यात्राको दृश्य होइन, यो हिमाली सीमामा खटिएका सुरक्षाकर्मीको दैनिकी हो । सशस्त्र प्रहरी यसरी चिसोमा ज्यानको प्रवाह नगरी सीमा सुरक्षार्थ खटिएका छन् । चिसो र हिमपातसँगै एक महिनादेखि खानेपानीको पाइपमा पानी जमेको हुन्छ ।
पाइपमा पानी आउनै छोडेपछि टिंकर खोलाको पानी प्रयोग गरिरहेको सशस्त्र प्रहरी नम्बर ५० का गुल्मपति फनिन्द्र शाहीले बताए। पाइपमा पानी जमेपछि त्यहीँ खोलाको पानी पिइरहेका छौँ । गुल्मबाट खोला नजिकै छ । चिसोमा कि खोलाको पानी ल्याएर उमालेर खानु कि हिउँ पग्लाएर खानुबाहेक अर्को विकल्प पनि छैन, उनले भने। गुल्मभित्र आगो तापेर शरीर न्यानो बनाउनु यहाँका बसोबास गर्नेको दैनिकी नै हो । तापक्रम शून्यभन्दा तल झर्दा हातखुट्टा सुन्निने अवस्था आउँछ । त्यसबीच पनि सशस्त्रको सीमा क्षेत्रको गस्ती रोकिएको छैन ।प्रहरी नायब उपरीक्षक फनिन्द्र शाही र सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरको नेतृत्वमा सुरक्षाकर्मी दिनहुँ जोखिम मोलेर सीमा क्षेत्रमा निगरानी गर्ने गर्छन् । उपरीक्षक शाही भन्छन्, यो संवेदनशील क्षेत्र हो । हामी त्रिदेशीय सीमाको सुरक्षामा खटिएका छौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा यही क्षेत्रमा पर्छन् । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पनि यही छ । राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्ने बेला चिसोमा नियमित ड्युटी हुनु सामान्य जस्तै लाग्छ।
छाङरु जस्तो दुर्गम हिमाली क्षेत्रमा सडक यातायात र पूर्वाधारको अभाव अझै ठूलो चुनौती बनेको छ । स्थानीय मात्र होइन, यहाँ खटिएका सुरक्षाकर्मी पनि आधारभूत सुविधाबाट बञ्चित छन् । रासन ल्याउनसमेत भारतीय परनिर्भरता अझै छ । नेपालतिर सडक बनेको छैन् । नेपाली सेनाले दार्चुला–टिंकर सडकअन्तर्गत ब्याँस–४ तुसरपानीदेखि छाङरु जोड्ने गरी सडक निर्माण गरिरहेको छ । नेपालतर्फबाट अहिले सडक निर्माणको काम दुम्लिङमाथि पुगेको छ ।
भारतीय क्षेत्रमा सडक भए पनि हिमपातका कारण हाल अवरुद्ध छ । भारतले कालापानी लिपुलेकसम्मै सडक विस्तार गरेको छ । अहिले एक महिनादेखि यो क्षेत्रमा हिमपात र बरफका कारण नियमित यातायात अवरुद्ध भएको हो । भारतीय सुरक्षाकर्मीका लागि भने हेलिकप्टरमार्फत नियमित रूपमा राशन ढुवानी हुने गर्छ । कालापानी क्षेत्रमा दैनिक दुई वटा हेलिकप्टरले सामग्री पुर्याउने गरिएको छ । उनीहरूको ब्यारेकमा हिटर, न्यानो कपडा र मौसमअनुसारको सुविधा उपलब्ध छ, तर नेपालतर्फ सडक छैन । पैदलमार्ग सञ्चालनमा आए पनि अहिले हिमपातका कारण बन्द छ ।हिउँ पर्नुअघि ओसारिएको राशनमै सशस्त्र प्रहरी निर्भर छन् । सामान्य आवतजावत गर्न पनि बाटो नहुँदा त्यसको मारमा सुरक्षाकर्मी परेका छन् । बुदी दोपाखेसम्म पुग्न नियमित हिउँ पन्छ्याउँदै बाटो खुलाउने प्रयास गरिरहेका छौँ, डिएसपी शाहीले भने ।
सशस्त्र प्रहरीले छाङरुबाट गागा क्षेत्रतर्फ निरन्तर गस्ती गर्दै आएको छ । हिउँ कम भएको बेला कालापानी मुहानसम्म पनि नियमित गस्ती हुने गर्थ्यो तर अहिले बाक्लो हिउँ जमेका कारण माथिल्लो क्षेत्रमा पुग्न सम्भव छैन । नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीको सम्बन्ध सौहार्दरुपमा चलेको छ । केन्द्रमा कालापानी लिपुलेकबारे चर्को नारा लागे पनि सीमामा बस्ने सुरक्षाकर्मी एक आसपमा सीमा अपराधका सूचना आदानप्रदान र नियमित भेटघाट हुनेगर्छ । गत महिना टिंकरमा रहेको सशस्त्र प्रहरीको बिओपी छाङरूमा झारिएको थियो । टिंकर क्षेत्रमा छाङरूभन्दा दोब्बर हिमपात हुने भएकाले सुरक्षाकर्मीलाई तल सारिएको हो । उक्त बिओपीले चीनसँगको सीमा क्षेत्रमा गस्ती गर्दै आएको थियो । एक वर्षअघि मात्रै टिङकरमा बिओपी स्थापना भएको थियो ।
मंसिर लागेसँगै टिंकर गाउँ पूर्ण रूपमा सुनसान छ । टिंकर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ । छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ । चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई ६ महिनासम्म मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराएर राखेको छ । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ ।
हिउँले ढाकिएको गुल्मभित्र आगो ताप्दै सीमाको रक्षा गर्नु उनहरूका लागि कर्तव्य मात्र होइन, गर्वको विषय बनेको छ । डिएसपी शाही भन्छन्, यो राष्ट्रले दिएको जिम्मेवारी हो । हामी महिनामा कम्तीमा दुई पटक काउन्टरपार्ट बैठक पनि बस्छौं । २०७७ जेठ ७ गते सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो । त्यसपछि असार २९ गते मन्त्रिपरिषद् बैठकले गुल्म स्थापना गर्ने निर्णय गर्यो । असोज ९ गते छाङरूमा ५० नम्बर गुल्म स्थापना गरिएको हो । भौगोलिक विकटता र कठोर मौसमका कारण यो हिमाली क्षेत्र राज्यका लागि सधैँ चुनौतीपूर्ण र संवेदनशील रहँदै आएको छ ।
तराईको फाँटदेखि हिमालसम्म सशस्त्रको पहरा
दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि भारत–चीन सीमा जोडिएको व्यास गाउँपालिका–१ सम्म सशस्त्र प्रहरीले पछिल्लो समय गस्ती र सुरक्षा उपस्थिति विस्तार गरेको छ । २०७७ सालसम्म सदरमुकाम खलंगामा सीमित रहेको सशस्त्र प्रहरी अहिले लेकमको लालीदेखि ब्यासको टिंकरसम्म फैलिएको छ । चुच्चे नक्सा प्रकाशनसँगै सीमा क्षेत्रमा युनिट थप गरिएको हो । सरकारले खलंगामा ४४ नम्बर गण स्थापना गरी त्यहाँ रहेको ५० नम्बर गुल्मलाई ब्यासको छाङरू–गागा क्षेत्रमा सारिएको थियो । दार्चुलामा नेपाल–भारत जोडिएका १० वटा सीमा नाका छन् । महाकाली नगरपालिका–४ खलंगा, वडा ९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिवी, वडा ६ बाकु, लेकम गाउँपालिका–३ लालीमा नेपाल र भारत जोड्ने सिमा नाका छ ।
यसैगरी, व्यास गाउँपालिका–१ सितापुल, वडा २ माल, वडा ४ सुन्सेरा मलघट्टे, वडा ५ तिगरम र वडा ६ बडुगाउँमा दुई देश जोड्ने सिमानाका छन् । यीमध्ये ब्यास गाउँपालिका–१ सितापुलमा महाकाली नदीमा काठेपुल राखिएको छ भने बाँकी सबै स्थानमा झोलुङ्गे पुल बनाइएको छ ।चीनसँग जोडिएको टिंकर भञ्ज्याङ लक्षित गरी ब्यास–१ छियालेकमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ । ४४ नम्बर गणका गणपति गुणराज न्यौपानेका अनुसार भारतसँगका १० नाका र चीनसँगको टिंकर नाका कभर हुने गरी सुरक्षा युनिट परिचालन गरिएको उनले बताए।
सीमा क्षेत्र हाल जोलजिवीमा प्रस्तावित सीमा सुरक्षा गुल्म सञ्चालनमा छ भने दत्तु र लालीमा बिओपी स्थापना भइसकेका छन् । छाङरूस्थित ५० नम्बर गुल्मअन्तर्गत टिंकर छियालेक र राप्लाको दुम्लिङ बिओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीका अनुसार दार्चुलामा भारतसँग १९८ किलोमिटर र चीनसँग ७५ किलोमिटर लामो सीमारेखा रहेको छ ।


